काठमाडौं, २० चैत। ४ दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामिरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरूमा १ सय ७० गरेर २ सय २७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरूको डा सचिनप्रकाश देवल र डा कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरूका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरूलाई क्वारेन्टाइनमा राखिएको हो । नयाँ वर्षका लागि घर फर्कन लागेका नेपालीहरू लकडाउनका कारण सीमामा अलपत्र परेका छन् ।
कतिपय नेपालीहरू महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिइरहेका छन् । भारतबाट नेपाल भित्रिएकाहरूलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरूले जनाएका छन् । यता प्रमुख जिल्ला अधिकारी पौडेलले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताए । लकडाउनका बेला आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरूलाई नेपाल भित्र्याउन नसकिने उनले बताए । यसअघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २ सय २ जनाको उद्धार गरिएको थियो ।



लोकपाटी न्यूज