काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेडिकल सामग्री खरिद सम्झौता रद्द गरिएपछि सरकार प्रमुख र मन्त्रीहरुबारे कडा टिप्पणी गरेका छन्।
उनले ट्विटरमा यस्तो लेखेका छन्, ‘सेटिंगमा रद्दी स्वास्थ्य सामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने। सुरक्षा प्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने। ललिता निवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने। यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’
नेता भट्टराईले नाम नलिइकन स्वास्थ्य सामग्री खरिद प्रकरणमा वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उक्त मन्त्रालयका कर्मचारीले करोडौंको भ्रष्टाचार गरेको टिप्पणी गरेका छन्। त्यस्तै, उनले करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारीहरु सम्झौता गरेर चोखिन खोजेको पनि बताएका छन्।
त्यस्तै, केही समय अघि सुरक्षा प्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गरेको भनेर पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको नाम नलिई कडा टिप्पणी गरेका छन्। उनले बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएर चोखिएको पनि टिप्पणी गरेका छन्। सार्वजनिक रुपमा चर्को आलोचना भएपछि सञ्चारमन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए।
ललिता निवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता तथा न्यायाधीश चोखिन खोजेको भन्दै नाम नलिइकन नेकपाका महासचिव विष्णु प्रसाद पौडेलमाथि कडा टिप्पणी गरेका छन्। नेता भट्टराईले अन्तिममा प्रश्न गरेका छन्, ‘यही हो कँणहरूको नयाँ विधिशास्त्र ?’



लोकपाटी न्यूज

