पोखरा, १९ चैत। गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। सभापति कोइरालले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत् जनतालाई प्रत्यक्ष सन्देश दिँदै उनले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरे।
अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सिधा आफूलाई ९८५६०२३१६१मा फोन गर्न आग्रह गरे। पहिलेका विपतमा जस्तो यस पटकको विपतमा बजारमा समस्या नदेखिएको बताउदै आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको कोइरालाले बताए।
अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारण ८ लाख ५८ हजार भन्दा बढि संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सबैजना सचेत रहनुपर्नेमा जोड दिए। कोइरालाले अहिलेको समय कोभिड-१९विरुद्ध सबै लड्नुपर्ने समय भएकोले सरकारलाई साथ दिन आग्रह गर्दे यदि कतै भष्ट्राचार भएको भए पछि छानबिन गरेर कारबाही हुने बताए।
उपचारमा खटिएका स्वास्थ्यकर्मी, फिल्डमा खट्ने सुरक्षाकर्मीप्रति आभार प्रकट गर्दै अत्यावश्यक काममा हिड्नै पर्नेलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह समेत गरे। आफ्नो आवश्यकता जनतामा परेमा आफू जनताकोमा जान तयार रहेको तर, अहिले आफू पनि घरमै बसेको कोइरालाको भनाइ छ। कोइरालाले गण्डकी प्रदेश सरकार र स्थानीय सरकारहरुले अति बिपन्न दैनिक ज्यालामा काम गर्ने मजदुर अपाङता भएका व्यक्ति देनिक गुजारा चलाउन नसकेकाहरुलाई राहत दिन लागेकोले सोहि प्रकारका व्यक्तिहरुले मात्र राहत पाउने वातावरण बनाउन पनि आग्रह गरे।



लोकपाटी न्यूज

