काठमाडौं, १९ चैत। कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण ती खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ ।
कैलालीको दक्षिणपूर्वी क्षेत्र खेतीका लागि महत्वपूर्ण रहँदै आएको छ । त्यहाँका सबैजसो मानिस कृषि पेशाबाटै गुजारा गर्दै आएका छन् । देशमा नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन हुँदा मानिस घर बाहिर निस्कन नपाएपछि किसान खेतमा पाकेको गहुँबाली कसरी भित्र्याउने भन्ने चिन्तामा छन् ।
हिउँदमा बढी वर्षा भएको कारण किसानले लगाएको अन्न बालीमा पहिले नै ठूलो क्षति पुगेको छ । बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको किसानको गुनासो छ । यन्त्रले गहुँ काट्ने गरेको भए पनि किसानले डिजेल नपाएको गुनासो गरेका छन् । सरकारले नै डिजेलको बिक्रीवितरणमा रोक लगाएको भन्दै आयल स्टोरहरुले डिजेल दिन नमानेको किसान बताउँछन् । मेशिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले सरकारसँग किसानलाई डिजेलको व्यवस्था गरी गहुँ भित्र्याउनका लागि सहज बनाइदिन आग्रह गरेका छन् ।



लोकपाटी न्यूज

