काठमाडौं, १९ चैत। बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन्। एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन्। रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जना सम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।
सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ। लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ। प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताउए। बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ। गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ।



लोकपाटी न्यूज