काठमाडौं, १८ चैत्र। कोभिड–१९ को सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई कल्याण्कारी स्वयंसेवक संघ नेपालले खाद्यान्न सहयोग गरेको छ।
सोमबार संघका अध्यक्ष अक्कलबहादुर तामाङ नेतृत्वको टोलीले बिपन्न परिवारको घरमै पुगेर खाद्य सामग्री बितरण गरेको हो। संघले अति बिपन्न पाँच परिवारलाई दाल, चामल, तेल, चिनी र नुनजस्ता उपभोग्य सामाग्री बितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए।
संघले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ र १२ का विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो। वडा नं. ११ का नरहरि नेपाली, मिंग्मा शेर्पा र सुन्दर नगरकोटी र वडा नं. १२ का जगन्नाथ शाह र सञ्जु तामाङको परिवारलाई आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको तामाङले बताए।
राहत बितरणका लागि संघका अध्यक्ष तामाङसँग बुढानिलकण्ठ–११ का वडाध्यक्ष राजु अधिकारी, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, कल्याणकारी स्वयंसेवक प्रतिनिधिहरु गणेश मिश्र र शंकर न्यौपाने बिपन्न परिवारको घरमा पुगेका थिए। अध्यक्ष तामाङले बिपन्न परिवारलाई सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताएका छन्।
के हो कल्याणकारी स्वयंसेवक संघ ?
कल्याण्कारी स्वयंसेवक संघ परिवर्तनका लागि स्वयंसेवक भन्ने नाराका साथ स्वयंसेवी कार्यका लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो। यसले व्यक्ति, समुदाय, समाज र समाजका विभिन्न वर्ग र उपवर्गलाई सामाजिक कार्यका लागि स्वयंसेवी चिन्तन, संस्कार र कार्यका लागि अभिप्रेरित गर्दछ।
अन्तर्राष्ट्रिय स्वयंसेवी संघको नेपालको आधिकारिक शाखाको रुपमा क्रियाशील यस संस्थाले नेपालमा परम्परादेखि चल्दै आएको श्रमदानलाई पुनर्जीवित गर्दै सामाजिक कार्यका लागि नयाँ पुस्तालाई दिशानिर्देश गर्ने लक्ष्य राखेको छ। त्यसका लागि छरिएर रहेको मानव संशाधनलाई संघका माध्यमद्वारा एकीकृत शक्ति र श्रममा बदल्न यसले निरन्तर काम गर्दै आएको छ।
पूँजीवादी विकासको चक्रले सामाजिक विकासमा व्यक्तिहरुको स्वयंसेवी चेतना कमजोर बनाएको अवस्थामा संघले नागरिकलाई सामाजिक कार्य आफ्नै जीवन, भविष्य र भावी सन्ततिकै लागि हो भन्ने शिक्षा दिँदै आएको छ। यसले सामाजिक विकास, श्रमदान, सार्वजनिक संस्थाहरुको निर्माण र सम्भार, नागरिक सचेतना लगायतका कार्यहरु गर्दै आएको छ।



लोकपाटी न्यूज
