निर्मल पौडेल, पर्वत १७ चैत्र।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९) को उपचार लागि प्रयोग गरिने सामाग्री पर्वत आइपुगेका छन्। चीनबाट आइतबार ल्याइएका सामग्रीहरु डाक्टर झलक गौतमको नेत्तृत्वमा आज पर्वत आएका हुन्। संक्रमित व्यक्तिको उपचार तथा स्वास्थ्य जाँच गर्ने बेला डाक्टरहरुले प्रयोग गर्ने पर्सनल प्रोटेक्ट इक्युमेन्टका ५० थान सामाग्री आएको पर्वत अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले जानकारी दिए।
पहाडीले पर्वतमा उक्त सामग्रीहरु उपलव्ध गराएकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त समेत गरेका छन्। संक्रमणको सम्भावना भएका बिरामीहरुको स्वाब परीक्षणका लागि र्याल निकाल्न प्रयोग गरिने पीपीइको अभाव हुँदै आएको थियो। संक्रमणको सम्भावना भएर कोरोना अस्पतालमा भर्ना भएकाहरुलाई उपचार गर्न सुरक्षणका सामग्री अभाव रहेको र अब भने उपचार गर्न सहज हुने जिल्ला अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटाले बताए।

५० थानले मात्र उपचारमा नपुग्ने भए पनि हाललाई केही राहत मिलेको देवकोटाको भनाइ छ। कोरोना अस्पतालमा उपचारका लागि बाँकी इक्युमेन्टहरुको अभाव हुँदै आएको छ यस्तै भन्टिलेटर खरिद प्रक्रियामा रहेको छ। त्यसका लागि छिटोभन्दा छिटो व्यवस्थापनमा जुट्ने अस्पतालका अध्यक्ष पहाडीको प्रतिवद्धता छ।
बाग्लुङका युवा डिस्चार्ज
निर्मल पौडेल। कोरोना संक्रमणको आशंकामा पर्वतको कोरोना अस्पतालको आइसोलेशनमा भर्ना भएका बाग्लुङका एक युवा डिस्चार्ज भएका छन्।
बाग्लुङकी संक्रमित महिलासंगै कतार एयरवेजको क्युआर ६७२ विमानमा आएका युवाको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। उनको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।
आइतबार रिपोर्ट नेगेटिभ आएको थियो। नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोरोना अस्पताल पर्वतले जनाएको छ। डिस्चार्ज भए पनि सावधानी अपनाउन चिकित्सकको सुझाव छ।
मजदूरलाई खाद्यान्न बितरण
निर्मल पौडेल। राष्ट्रिय युवा संघ पर्वतले ेभिड १९ को महामारी र लकडाउनले निम्त्याएको संकटको बेला विपन्न परिवारलाई खााद्यन्न वितरण गरेको छ। ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने मजदुरका लागि खाद्यान्न सहयोग गर्ने युवा संघ पर्वतको घोषणाअनुसार कुश्मा नगरपालिका ४ मा रहेका तीन विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

साविक युवा संघ पर्वतका जिल्ला सचिवालय सदस्य विजया जोशी र अम्विका गुरुङ प्रधानको सहयोगमा उक्त सामाग्री युवा संघ पर्वतले पीडितलाई सहयोग गरेको युवा संघ पर्वतका संयोजक थमनारायण पौडेलले जानकारी दिए। उक्त खाद्यान्न प्रदान गर्दै संयोजक पौडेलले कोरोना भाइरसको प्रकोपले निम्त्याएको विपत्तिको घडीमा थोरै भए पनि सहयोग पुग्ने हेतुले उक्त सहयोग प्रदान गरेको बताए।
युवा संघले घोषणाबमोजिम राहत बितरण गरिएको र अरु मजदूरलाई पनि सहयोग गरिने युवा संघका नेता अर्जुन पौडेलले बताए। राहत बितरणमा जिल्ला संयोजक थमनारायण पौडेल, अर्जुन पौडेल, धु्रव श्रेष्ठको सहभागिता थियो।
महाशिलामा १५ शैय्याको क्वारेन्टाइन
निर्मल पौडेल। पर्वतको महाशिला गाउँपालिका ५ लुङ्खु देउरालीमा कोरोना भाइरसबाट जोगिन तथा नियन्त्रण गर्न १५ शैयाको अस्थायी क्वारेन्टाइन स्थापना गरिएको छ। धुवाँकोट महाशिला क्याम्पसको भवनमा उक्त क्वारेन्टाइन स्थापना गरिएको हो।
वडा कार्यालय, महाशिला स्वास्थ्य प्राथामिक केन्द्र, स्वास्थ्य शाखाको अग्रसरतामा अस्थायी क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए। गाउँपालिकामा बाहिरबाट भित्रिने व्यक्तिहरुलाई तथा अन्य नागरिकमा सामान्य लक्षण देखिए क्वारेन्टाइनमा राखिने ठकुरीले बताए।
गाउँपालिकाले भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सर्तकताका लागि प्रभावकारी कदम अगाडि बढाइरहेको र आवश्यक परेमा अन्य ठाउँहरुमा पनि अस्थायी क्वारेन्टाइन निर्माण गर्न लागिएको उनले बताए। बाहिरबाट आउने व्यक्तिहरुलाई २ हप्ता क्वारेन्टाइनमा राख्ने र सामान्य अवस्था देखिएपछि छोडिनेछ।




लोकपाटी न्यूज

