३ दिनमा ८७ हजार ६ सय सिलिन्डर ग्यास बिक्री

Gas
लोकपाटी न्यूज

काठमाडौं, १७ चैत। कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा ३ दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले ३ दिनको अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर ग्यास बिक्री भएको जानकारी दिए ।

उनका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४।२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो। शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १ सय ८ सिलिन्डर र आइतबार ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास वितरण गरिएको उनले जानकारी दिए।

औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकोमा १८ फागुनदेखि १५ चैत हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ । निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ।

निगमको निर्देशनअनुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा भएको ग्यास बिक्री गरिएका बिक्रेता महासंघले जनाएको छ । महासंघका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिए । उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै १ हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि सो संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उनले तर्क राखे ।

उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था नभएको र उद्योगवाट वितरण गर्दा प्रभावकारी नहुँदा गुनासो बढी आएको स्थानमा वितरण गर्न उनले आग्रह गरे । निगमले हजारौंँको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्