काठमाडौं, १७ चैत। चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पुर्याउने व्यवस्था मिलाउने भएको छ। विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो।
चन्द्रागिरिका प्रवक्ता, हरिभक्त महर्जनले चन्द्रागिरि नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदूर तथा विद्यार्थीलाई घर नजिकको गन्तव्यस्थल राजमार्गसम्म पु¥याउने निर्णय गरिएको जानकारी दिए । ‘लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदूरका लागि घर नजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ’, उनले भने। चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पु¥याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ।
चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदूरलाई वडामा नामथर, हाल बसोबास गरेको ठेगाना, कार्यरत रहेको संस्था वा कार्यलयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई० हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि चन्द्रागिरिभित्र रहेका स्वास्थ्य सङ्घ संस्थालाई पिपिई हस्तान्तरण गरिएको जानकारी दिए । ‘सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पिपिई नभएकाले शुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पिपिई वितरण गरेका छौँ, बाँकी विस्तारै थप्दै जान्छौँ’, नगरप्रमुख गिरीले भने।
काठमाडौँ प्रवेशको मुख्यद्वारका रुपमा रहेको चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड र भित्री सडकखण्डमा किटनाशक औषधिसमेत छरेको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छरेको हो । कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्म र नगरपालिकाका भित्री सडकमा किटनाशक औषधि छर्किएको नगरपालिकाले जनाएको छ।
चन्द्रागिरिले सरकारले चैत ११ देखि २५ गतेसम्म ‘लकडाउन’ गरेकाले लकडाउनको समयमा नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै नगरपालिकाभित्र माइकिङ गरेको छ। यस्तै चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनको कार्यलाई समेत अगाडि बढाएको छ।
यसैगरी चन्द्रागिरि वाणिज्य सङ्घ चन्द्रागिरि चेम्बरले प्रत्येक वडामा मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भइरहेका बेला चन्द्रागिरि चेम्बरले चन्द्रागिरि नगरपालिकामा तीन हजार थान मास्क वितरण गरेको हो । चेम्बर चन्द्रागिरिका अध्यक्ष रामनारायण घिमिरेले विपन्न जनतासम्म मास्क पु¥याउने उद्देश्यले वडाध्यक्षमार्फत मास्क वितरण गरेको जानकारी दिए।
चेम्बरले चन्द्रागिरिमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ । चन्द्रागिरिमा हाल १३ स्वास्थ्यचौकी र दुई अस्पताल सञ्चालनमा रहेका छन् । नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ५० थानका दरले मास्कसमेत वितरण गरेको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन्।



लोकपाटी न्यूज

