दाल–चालमका बोरा बोकेर आश्रममा पुगे डीआईजी पोखरेल

DIG_Pokhrel pic 1
लोकपाटी न्यूज

काठमाडौं, १७ चैत। महानगरीय प्रहरी कार्यालय काठमाडौंले पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेको छ। राहत दिने घोषणा गरे लगत्तै राहत सहयोगको अभियान थालेको छ। कार्यालयका प्रमूख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको पहलमा काठमाडौंस्थित मानव सेवा आश्रमबाट उक्त अभियान शुरु गरिएको छ।

एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैं आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगेका थिए। अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै पोखरेलले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरे।

डीआईजी पोखरेलले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेका आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिए। आश्रममा खाद्यान्नको अभाव भइरहेको अवस्थामा राहत उपलब्ध गराएको भन्दै बर्ताैलाले मानवीय कार्य गरेकामा डीआईजी पोखरेलको प्रशंसा गरे।

उपत्यकाको तीन जिल्लाका गरी आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन्। उनीहरुका लागि यो राहत सामग्री एक हप्तासम्म पुग्छ । मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन्। दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्