मृत्यु कति सस्तो रहेछ ?

Achyutshali Ghimire
लोकपाटी न्यूज

डा. अच्युतशाली घिमिरे

मानिस
जीवनमा अनेकौं
मिथ्याहरुसँग संयोग राख्दछ,
क्षणिक सुखहरु आर्जन गर्दछ,
जन्म–जन्मान्तरसम्म
एउटा मृगतृष्णामा
पछि लागिरहन्छ,
भूलभुलैयामा
चक्कर मारिरहन्छ,
तर
आखिर जिन्दगी
के नै छ र ?

जीवनका
अनन्त स्पन्दनहरुलाई
अनुभव गर्न नपाउँदै,
मृत्यु आउँछ र
टपक्क टिपेर
लान्छ,
हामी प्रश्न उत्तर
गर्न सक्दैनौ,
केही गरुँला र भरुँला
भन्ने उमेरमा नै
निस्सारताको
भूमरी फिजाइदिन्छ,
धर्तीका अनेक क्रियाहरुलाई
स्वर्गबाट चिहाउन
बाध्य पारिदिन्छ,
साँच्चै नै
मृत्यु आफैमा
विरोधाभास छ
नवीन प्राप्तिका
लालसाहरुमा
पूर्णविराम लगाइदिन्छ।

कोरोना
मात्र जीवाणु हो
तर यहाँ
हजारौं मरिरहेछन्
लाखौं सक्रमित छन्
करोडौं त्रासमा बाँचिरहेछन्
विश्व नै अस्तव्यस्त छ,
पूँजीवाद
अस्ताइरहेछ,
आणविक हतियारले होइन
जीवाणुको हतियारले
विश्व पछुताइरहेछ।

यहाँ
विश्व बन्धुत्वको प्रेममा
विषाद बन्दैछ
एउटा भाइरस,
आधुनिक आँखाहरु
टट्टाइरहेछन्,
अंगहरु थर्किरहेछन्,
संघर्षहरु
तिर्मिराइरहेछन्,
बेफुर्सदमा पनि कठ्ठै
कोठाभित्र
निसास्सिँदो बन्दैछ
जिन्दगी।

खै
कहाँ गए ती मानववादहरु ?
प्राकृतिक क्रियामा
धावा बोल्ने
आदर्श अन्वेषकहरु ?
आँखा चिम्लेर
पूँजीवादको सपना देख्ने
कुम्भकर्णहरु ?
कहाँ गए
सिर्जन गर्ने ब्रह्महरु ?
कहाँ गए
पालन गर्ने विष्णुहरु ?
यहाँ त विनाश गर्ने
शिवहरु मात्र छन्।

मानवका
भुलहरुमा
स्वार्थ प्रदर्शनहरुमा,
कर्तव्यका हठ
पालनहरुमा,
अस्तित्व शुन्य हुँदैछौं
हामी र हाम्रो पुस्ता।
साँच्चै कति
सस्तो रहेछ मृत्यु ?
कोही निदाउँदा निदाउँदै
कोही लोलाउँदा लोलाउँदै
कोही विछ्यौनामै गए
कोही विरामीको उपचारमा
खटिँदा खटिँदा गए,
आफन्तले
स्याहार सुसार गर्न पाएनन्,
अन्तिम संस्कार गर्न पाएनन्,
खै कहाँ छन्
ती प्रश्नहरु ?
जो सोधिन चाहन्थे
तर
हामी अहिले मौन छौं
सायद आत्मसमर्पण गर्दैछौं,
यो
विषादको अवस्था नभएर
मानव जातिको
बुद्धि फिर्ने अवसर पो हो कि ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्