विदेशबाट फर्किएकाहरू सम्पर्कमा आइदिन प्रहरीको आग्रह

nepal-police
लोकपाटी न्यूज

काठमाडौं, १६ चैत। विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ।

विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उनी बताउँछन् ।

केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ । कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उनले स्पष्ट पारे।

“सोही विमानमा सवार पाँच जना विदेशी नागरिकसहित २४ जना कहाँ छन्, कस्तो अवस्थामा छन्, खोजी हुँदैछ,” उनले भने, “राहदानीका आधारमा जिल्ला गाउँको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौँ ।” कोरोना भाइरस सङ्क्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन्। उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका परिचित र आफन्त सबैलाई सम्पर्कमा आइदिन प्रहरीले आग्रह गरेको छ ।

सङ्क्रमित व्यक्तिहरू सवार विमानको फ्लाइट नम्बर तथा विमानमा सवार यात्रुको पहिचान भए पनि राहदानी लिएको जिल्ला र फोन नम्बर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो । उहाँका अनुसार राहदानी एक जिल्लाबाट र बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो ।

चैत ४ गतेपछि नेपाल भित्रिएका सम्पूर्ण नागरिकको विवरण सङ्कलन गरी सम्पर्कमा ल्याउन हेल्प डेस्क मात्र नभई सिङ्गो प्रहरी सङ्गठन सक्रिय छ, उनले भने ।-गोरखापत्र दैनिक।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्