पर्वत। नेकपाका युवा नेता अर्जुन पौडेलले जिल्ला प्रशासन कार्यालयले हुलका हुल मान्छेलाई पास बाँडेर लकडाउनलाई फितलो बनाएको भन्दै त्यस्तो कार्य रोक्न आग्रह गरेका छन्। सरकारले लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर हिँडडुल गर्न सकिने अवस्था गरेकोमा त्यस्तो उल्लंघन भएको भन्दै पौडेलले आपत्ति जनाएका छन्।
उनले लकडाउनको बेला बाँड्ने पासलाई पनि राजनीतिक दाउपेचको विषय बनाइएको र यसले महामारी निम्त्याउन सक्ने कुराप्रति चिन्ता व्यक्त गरेका हुन्। फेसबुकमा स्टाटस लेख्दै पौडेलले महामारी रोक्न विदेशबाट आएका नागरिकको निगरानी र सवारी साधनको चापलाई घटाउन पनि स्थानीय प्रशासन र जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
यस्तो छ पौडेलको मत
कसैले मन नदुखाउँ, यथार्थ यही हो।
जताततै नाम मात्रका क्वारेन्टाइन बनाउनुभन्दा स्थानीय तहहरु सक्रिय बनाएर आफ्नो आफ्नो क्षेत्रमा बाहिरबाट आएकाहरु र उनीहरुसँग नजिक रहेकाहरुलाई कडा क्वारेन्टाइनमा राखौं। बाहिर निस्कन नदिउँ। नमाने बल प्रयोग गरी खुट्टा बाँधेर भए पनि थुनेर राखौं।
बाहिरबाट आएका ब्यक्तिहरु गाउँगाउँमा भेटघाटमा अझै लागिरहेका छन्, तिनीहरुलाई तुरुन्त नियन्त्रण लिन नसके स्थिति काबुभन्दा बाहिर जाने पक्का छ। घर बाहिर एकजना पनि निस्कन नदिने गरेर कडा नियम लागू गरौं। यदि बेलैमा हामीले सबै संयन्त्र प्रयोग गरेर पहिलो चरणमै स्थिति आफ्नो नियन्त्रणमा लिन सकेनौं भने भोलि लासमाथि टेकेर हिंड्ने समय नआउला भन्न सकिँदैन। नत्र यसो गरे र उसो गरे भनेर काम देखाउन खोज्नुको अर्थ केही रहँदैन।
मलाई लाग्छ अबको ८–१० दिनमा सबैले गरेको कामको नतिजा देखिई हाल्नेछ। त्यसपछि कसको कामको खुलेर विरोध गर्ने वा प्रशंसा गर्ने सोचौंला। अहिले जसरी हुन्छ स्थितिलाई नियन्त्रण बाहिर जान नदिने गरेर काम गरौं।
बजार र गाउँमा अझै मान्छेहरु छरपष्ट निस्किरहेका छन्। बाइक र गाडीका पास बनाएर हुइक्याउनेको लाइन नै छ सम्बन्धित निकायमा। हाइवेमा बाइकका लाइनहरु उत्तिकै छन्। के कारणले यति धेरै पासहरु उपलब्ध गराइएको छ वा के आवश्यकताले यति धेरै पासहरु वितरण भइरहेका छन्, म अचम्म छु। नत्र यति धेरै पास लिएर बाइकका ताँती नहुनुपर्ने हो बाटोमा।
जसरी हुन्छ लकडाउन एकदमै कडा गरौं। अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई पक्राउ गरी लगेर थुनिदिउँ बरु केही दिन। अहिले गाली गरे पनि बिस्तारै मान्छेले बुझ्नेछन् कसका लागि यति कडा गरेको भनेर। व्यक्तिगत प्रचारका लागि र राजनितिका लागि गर्ने र देखाउने काम पछि गरौंला। अहिले नतिजा दिने काम गरौं, मेरो सबै जनप्रतिनिधि, प्रशाशक र सम्बन्धित निकायमा हार्दिक अनुरोध छ।
(कुश्मा बजार, पर्वत)



लोकपाटी न्यूज
