अस्मिना पाण्डे/ तिलोत्तमा, १४ चैत। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलब्ध गराउन थालेको छ। ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो।
शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यान्न वितरण सबै वडामा चल्नेछ। वडा नं. ४ को सीमानगरमा नगर प्रमूख बासुदेव घिमिरे र उपप्रमूख जागेश्वरी चौधरीले खाद्यान्न वितरण सुरु गर्नुभएको हो। शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमूख वासुदेव घिमिरेले बताए।
कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु¥याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे।
नगर प्रमूख घिमिरेले भने ‘सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पुर्याइदिने छ।’ घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका ईन्द्र थापाले संकटका बेलामा नगरपालिकाले सरकार भएको महशुस दिलाएको बताए।

तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ। नगर उपप्रमूख जगेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै मर्न नदिने बताए।
नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ।
यसैबिच, तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमूख बासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिएका छन्। यस्तै उपप्रमूख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँको सहयोग गरेकी छिन्। नगरपालिकाले यसअघि नैं स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाउँदै लैजाने निर्णयसँगै उनीहरुले कोषमा व्यक्तिगत सहयोग गरेका हुन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमूख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए। प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैंयाँ पुर्याउने लक्ष्य राखिएको छ।नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत रकम प्रदान गर्न थालेका छन्। तिलोत्तमा१ स्थित होराइजन जिबिएस स्कूलले एक लाख एक हजार रुपैंयाँ कोषमा दिएको प्राचार्य गोपाल आचार्यले जानकारी दिए।
यस्तै तिलोत्तमा, प्रदीपनगर निवासी वरिष्ठ समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गरेका छन्। नगरपालिकाले एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमूख बासुदेव घिमिरेले बताए। प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई मजबुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको बताए।
यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ।
जहाँ अहिले १९ जना बसेका छन्। त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ।



लोकपाटी न्यूज
