भरतपुर। कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहँदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ। कोभिड–१९ को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाइरहेका बेला भरतपुर महानगरले सरसफाइमा विशेष ध्यान दिन थालेको छ।
महानगरको अगुवाइमा ३ दिन अघिबाट अति संवेदनशील स्थानहरु अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराइड मिसाएर ब्लिच गरेको पानी छर्किदै आए पनि आजबाट नारायणगढको विभिन्न स्थानमा पनि छर्किन थालेको छ। महानगरपालिकाका इञ्जिनियर बिराट घिमिरले दिएको जानकारी अनुसार टंयाकरमा उक्त ब्लिच गरको पानी राखेर नारायणगढको लायन्स चौक, शहीद चोकदेखि पुल्चौकसम्म छर्किएको बताए।
‘सोडियम क्लोराइड मिसाएर तयार गरेको पानी छर्किनाले किटाणुको संक्रमण बढ्न पाउँदैन’ उनले भने, ‘त्यसैले नारायणगढको अति फोहोर र दुर्गन्धित भएको स्थानहरु हेरेर आजबाट छर्किन थालिएको हो।’ बजार बन्द भए पनि फोहोरहरु सडकमा फालिनाले त्यो उठाउनुका साथै जिवाणुको संक्रमण बढ्न नदिन यो सतर्कता महानगरले अपनाएको हो। महानगरले यो ब्लिच गरेको पानी नारायणगढसँगै भरतपुरका विभिन्न क्षेत्रमा छर्किने जनाएको छ।
कोरोनाको संक्रमण अहिलेसम्म चितवनमा नदेखिए पनि भित्रिन नदिन उच्च सतर्कता अपनाइएको हो। देशभरिकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको केन्द्रविन्दु रहँदै आएको छ। त्यसैले पनि महानगरले कोरोनासँगै अन्य रोग भित्रन नदिन सरोकारवालासँग सहकार्य गर्दै सरसफाइमा विशेष ध्यान दिँदै तथा मानिसहरुको भीडभाड हुन नदिन सतर्कता अपनाएको छ।
Posted by Birat Ghimire on Thursday, March 26, 2020



लोकपाटी न्यूज

