अमेरिकी राष्ट्रपति ट्रम्पले सिफारिस गरेको औषधी सेवनबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर बिरामी

Donald Trump
लोकपाटी न्यूज

काठमाडौं, १२ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि ‘क्लोरोक्वाइन’ नामक माछा राख्ने ट्यांकी सफा गर्ने औषधि सिफारिस गरेका थिए।

ट्रम्पले सिफारिस गरेको औषधि सेवन गर्ने अमिरिकी नागरिक एरिजोनाका दम्पती नै भएको बताइएको छ। बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका रहेका अमेरिकी सञ्चार माध्यमले बताएका छन्।

ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए। औषधि सेवन गर्ने ती महिलाले एनबीसी न्युजसँग क्लोरोक्वाइनको सम्भाव्य फाइदाबारे आफूले ट्रम्पको टेलिभिजन सम्बोधनमार्फत थाहा पाएको र त्यहीअनुरूप सेवन गरेको बताएकी छन्।

कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ।कोरोनाका बिरामीका लागि यसले काम गर्छ कि गर्दैन भनेर अहिलेसम्म ठोस अनुसन्धान भएको छैन।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ।