काठमाडौं। मंगलबारदेखि सरकारले देशभर लकडाउन गर्दै सर्वसाधारणलाई घर बाहिर निस्किन रोक लगाएको छ। रोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट १८ चैत बिहान ६ बजेसम्मका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गर्दै सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाएको हो।
खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडी बाहेक अरु सवारी साधन पनि चलाउन नपाइने आदेश जारी गरिएको हो। सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न लकडाउनको निर्णय गरेको हो। कोरोना सम्बन्धी पाँच शब्द जसको अर्थ यस्तो रहेको छ।
Lockdown: एक आपतकालीन रोकथाम उपाय जसमा मानिसहरूलाई खतराको बेला कुनै क्षेत्र (वा घर) प्रवेश गर्न वा छोड्नबाट रोक लगाइन्छ।
Curfew: नियमन जस अनुसार मान्छेलाई तोकिएको समयसीमा बीचमा घर भित्र रहन आवश्यक रहन्छ, तथा आवश्यकता अनुसार कानुनी बलको पनि प्रयोग हुन सक्दछ। सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाइन्छ भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन लकडाउन गरिन्छ।
Social or physical distancing: एक संक्रमण नियन्त्रण उपाय हो जसद्वारा संक्रामक रोगको विस्तारलाई रोक्ने वा घटाउने उद्देश्यले सङ्क्रमित व्यक्तिहरू र संक्रमित नभएका अन्य मानिसहरू बीचको सम्पर्कको सम्भावनालाई कम गरिन्छ।
Quarantine: कुनै सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको वा आएको सम्भावना भएको (जस्तै संक्रमित देशमा भ्रमण गरेको अवस्थामा) तर सो रोगको लक्षण नदेखिएको मानिसलाई उसमा पनि रोग देखिन्छ कि भनेर, साथै लक्षण नभए पनि अरुलाई रोग सार्ला कि भनेर उसलाई अलग्गै बस्न लगाउने प्रक्रिया।
Self quarrantine/Home quarrantine : माथि उल्लेखित अवस्थामा स्वेच्छाले घरमा बसेर र परिवारका सदस्यहरूसँगको सम्पर्क सीमित गरेर तथा अन्य व्यक्तिहरूसँगको सम्पर्कबाट टाढा रहने प्रक्रिया।
Isolation: संक्रमित बिरामीलाई अस्पतालमा अलग्गै कोठा र वेडमा राखिने प्रक्रिया, जसले गर्दा उसबाट स्वस्थ व्यक्तिहरुमा सो संक्रमण फैलिने सम्भावना कम हुन्छ।



लोकपाटी न्यूज

