काठमाडौं। यतिबेला संसारभर कोरोना भाइरस (कोभिड-१९) प्रभाव छ। कोरोना भाइरसका कारण मुलुक आतंकित भएको छ। अहिले विश्व वैज्ञानिकको मुख्य ध्यान यो कोभिड-१९ नाम दिइएको महामारीलाई कसरी रोक्ने, कम गर्ने र निको पार्ने औषधि पत्ता लगाउनेभन्ने कुरामा ध्यान केन्द्रीत छ। यसका साथै, वैज्ञानिकहरु यस रोगको संक्रमणबाट निको भइसकेकाहरुमा पुनः संक्रमण दोहोरिएर फर्किन सक्ने सम्भावना कत्तिको छ भन्ने कुराको अनुसन्धानमा पनि जुटेका छन्।
चीनका कतिपय घटनाहरुमा एक पटक निको भइसकेका रोगीमा पुनः यो संक्रमण दोहोरिएर पनि देखापरेको स्थिति भोगि सकिएको छ। त्यसैले यतिबेला विश्वका वैज्ञानिकहरु कोरोनाभाइरसले मानिसलाई दोहोर्याएर संक्रमित गर्छ कि गर्दैन भन्ने कुरा पत्ता लगाउने कोशिश गरिरहेका छन्। यसबारेमा वैज्ञानिकहरुले अझै ठोस उत्तर फेला पारिसकेका छैनन्। तर अहिलेसम्मको स्थितिमा संक्रमण दोहोरिएर देखापर्ने सम्भावना कमै छ। यतिबेला विश्व वैज्ञानिक जगतका लागि सबैभन्दा ठूलो चासो र चिन्ताको विषय यो पनि भएको छ।
कोभिड–१९, जसलाई सार्स–कोभ–२ (SARS-CoV-2) भाइरस पनि भन्ने गरिन्छ, दोहोरिएर देखापर्यो भने त्यसले यो महाव्याधिमाथि विजय पाउने अहिलेसम्मको सम्पूर्ण प्रयासहरुमाथि नै पनि गम्भीर प्रश्नचिन्ह खडा गराइदिन सक्छ। अहिले यो महाव्याधिका विरुद्ध लड्नका लागि मानिसहरुको सामूहिक प्रतिरक्षा प्रणालीलाई उपयोग गर्ने रणनीतिका बारेमा पनि वैज्ञानिकहरुले काम गरिरहेका छन्। खासगरी, एक पटक संक्रमित भइसकेका मानिसहरुको रगतमा त्यो भाइरसका विरुद्ध प्रतिरोधी तत्वहरु पैदा हुने हुन्छ। सिद्धान्तः त्यस्तो अवस्थामा पुनः त्यही भाइरसले दोहोर्याएर आक्रमण गर्ने सम्भावना कमै रहन्छ।
गत महिनामात्रै जापानी अधिकारीहरुले भाइरस संक्रमित एक महिलामा पहिले भाइरसको संक्रमण देखिएको र पछि उनी भाइरसमुक्त भएको जानकारी दिएका थिए। तर पछि उनमा पुनः संक्रमण देखिएको थियो। त्यसै गरी डायमण्ड प्रिन्सेस क्रुजसिपमा रहेका ७०९ वर्ष उमेर नाघेका एक जापानी पुरुषमा पनि फेब्रुअरी १४ मा संक्रमण देखिएको थियो। रिकभरी समयावधि सकिएपछि उनमा संक्रमण निको भएको पाइएको थियो। तर तिनै मानिसमा पछि मार्च १३ मा फेरि संक्रमण फेला परेको थियो।
यस्ता संक्रमण दोहोरिएका घटनाहरुले वैज्ञानिकहरुलाई हैरान बनाएको छ, दिग्भ्रमित तुल्याइदिएको छ। विज्ञान साहित्यहरुमा केही यस्ता प्रमाणहरु पनि छन् मूलतः चमेरामा पाइने कोरोनाभाइरसको घरिघरिको संक्रमण तथा अन्य भाइरल संक्रमणहरुका आधारमा एक पटक कुनै पनि व्यक्ति संक्रमित भइसकेपछि उनीहरु त्यसका विरुद्धमा प्रतिरोधी बन्न पुग्छन् र उनीहरुमा दोहोर्याएर त्यही संक्रमण भइहाल्दैन। रोगहरुविरुद्धको त्यो प्रतिरोधी क्षमता छोटो समय टिक्ने खालका हुन्छन, दीगो समयसम्म रहने खालका हुँदैनन्।
विगतमा सार्सको महाकारीको बेलामा गरिएका अध्ययनहरुले देखाएअनुसार, सार्स्विरुद्धको एन्टीबडीहरु एउटा संक्रमित भएर निको भएको मानिसमा २ वर्षसम्म समान स्तरमा रहेको देखिएको थियो। तर संक्रमणको तीन वर्ष पछि त्यो प्रतिरोधी क्षमता अत्यन्तै तीब्र गतिमा घटेको थियो। उक्त अध्ययनको आधारमा भन्दा संक्रमित निकोभएको तीन वर्षपछि पुनः संक्रमण फर्किन सक्ने सम्भावना रहन्छ ।
वैज्ञानिकहरुले यो द्विविधाका बारेमा ठोस उत्तर खोज्नका लागि संक्रमणका बारेमा एन्टीबडी टेस्ट गर्नुपर्ने हुन्छ। तर अहिले महामारी फैलाइरहेको नोबेल कोरोनाभाइरसका बारेमा सम्पूर्ण रुपमा सत्यतथ्य वैज्ञानिकहरुले पत्ता नलगाइसकेको स्थिति हो। यो सन्दर्भलाई समेत विचार गर्दा र अहिलेसम्मको घटनाक्रमहरुले देखापर्दा तीन वर्षको अवधि हैन, त्यो भन्दा छोटो अवधिमा नै पनि यो संक्रमण दोहोरिएर देखापर्न सक्ने सम्भावनालाई अन्य थप वैज्ञानिक अध्ययन अनुसन्धानहरुले गलत साबित नगरेको अवस्थासम्म इन्कार गर्नै सकिन्नँ।
विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार यो कोरोना भाइरसले संसारभरि ३,३४,९८१ जनालाई संक्रमित गरिसकेको छ, १४,६५२ जनालाई कालको ग्रास बनाइसकेको छ। यसले १८९ वटा देशहरुलाई आफ्नो चपेटामा पारिसकेको छ। तर, वर्ल्डोमिटरका अनुसारसंक्रमितको संख्या ३८१७६१ पुगेको छ भने मृत्यु हुनेहरुको संख्य १६,५५८। वर्ल्डोमिटरकै अनुसार संक्रमितहरुमध्ये २,५०,७०० जना अर्थात् ९५ प्रतिशतमा मध्यमखालको असर देखिएको छ भने १२,०६२ अर्थात् ५ प्रतिशत मात्रै गम्भीर अवस्थामा छन् । सुखद कुरा चाहिँ के छ भने अहिलेसम्मका कूल संक्रमितहरुमध्ये १०२,४२९ जना निको भएर घर फर्किसकेका छन्। स्रोतः साइन्स नेचर



लोकपाटी न्यूज

