मेहेनती शुसिला : पोल्ट्री फर्म र तरकारी खेतीबाट वार्षिक ६ लाखको आम्दानी

Bajura
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, १० चैत। आजभोली बुढिगंगा नगरपालिका वडा नम्बर ५ कोट बाडाकि शुशिला मिजारको दैनिकी निकै ब्यस्त रहेको छ। देशका अधिकांश युवाहरु स्वदेशमा रोजगारी नभएको भन्दै वैदेशिक रोजगारमा आकर्षण बढिरहेको बेला मिजार भने कुखुरा व्यवसाय र तरकारी खेतीमा सक्रियतापूर्वक लागिरहेकी  छिन्।

बडिमालिका क्याम्पस फालासैनमा अध्ययनरत उनको दिनचर्या सदा झै बिहान क्याम्पस जाने तथा दिनभरि फर्मको काम गर्ने रहेको छ। शुशिला पोल्ट्री फर्म नाम दिएर दर्ता गरिएको कुखुरापालन व्यवसाय २ लाखको लगानीमा शुरु गरिएको थियो। पहिला सामान्य घर खर्च चलाउन मुस्किल हुन्थ्यो मिजारले भनिन्, अहिले भने यहि व्यवसायबाट आफूसहित २ जना भाइ र १ बहिनीलाई उच्च शिक्षा पढाइ रहेको छु।’

सात जनाको परिवारलाई  आवश्यक लत्ता कपडा तथा घर खर्च चलाइरहेको मिजारले बताइन्। अहिले पोल्ट्री फार्ममा ४ सय सय ब्रोइलर कुखुरा रहेका छन् भने बारीमा प्रशस्त तरकारी लगाइएको छ। फर्ममा १५ सय जति कुखुरा राख्ने गरेको र अहिले कोरोना भाइरसको त्रासले फर्ममा कम राखेको बताइन्।

कुखुरा तथा तरकारी खेती दुवै गरेर वार्षिक ६ लाख सम्मको आम्दानी हुने गरेको मिजार बताउँछिन्। सफल युवा उद्यमी भन्दै विभिन्न संघ संस्थाबाट सहयोग तथा सम्मान पाउँदा निकै खुसी लाग्ने गरेको मिजार बताउँछिन्।आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको बताउदै शुसिलाले अझै व्यवसायलाई थप व्यवस्थित गर्दै अगाडि बढाउने बताइन्। सुशिलाको मेहनत र परिश्रम देखेर परिवार दंग छ भने छिमेकीले पनि उनको प्रसंशा गर्न थालेका छन्। स्वदेशमै व्यापार,व्यवसाय गर्न परिश्रम गर्ने हो भने आफनो र देशको भविष्य उज्जवल हुने शुसिला बताउँछिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्