कोरोनाबाट बच्न गाउँ जाने सर्वसाधारणको लर्को

butwal 1
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, ९ चैत। बुटवल सुख्खानगरमा बस्ने गिता न्यौपाने आफ्ना दुई छोराछोरीका साथ अटो रिक्सामा भेटिइन्।  कोरोनाको डर पनि भयो छोराछोरीको परिक्षा पनि सकियो त्यसैले गाउँ तिर जान हिडेको उनले भनिन्। यो भन्दा अगाडिका वर्षमा पनि पहाडको गाउँ बस्तीमा जाने गरेकी न्यौपाने अहिले भने त्यति हर्सित छैनन्। पहिला-पहिला वर्षमा गाउँ जान हतार हुन्थ्यो भेटघाट रमाइलो हुन्थ्यो अहिले कोरोना भाइरसबाट कसरी बच्न सकिएला भन्ने मात्रै चिन्ता छ उनले भनिन्।

विश्वभरी फैलिएको कोभिड १९ को त्रास उनका १० वर्षीय छोरा र ८ वर्षका छोराछोरीमा पनि छ। श्रीमान वैदेशिक रोजगारमा रहेको बताउने न्यौपाने बच्चालाई सम्झाउदै थिइन, बुटवलको नयाँ बसपार्क पुगिन्। बसपार्कमा अहिले गाउँ जानेको लर्को छ। शहर भन्दा गाउँमै सुरक्षा हुने विश्वास र शहरमा बच्चा पढाउन बसेका अभिभावकहरूले गाउँमा भीडभाड कम हुने स्वच्छ हावा पानी हुने हुँदा पनि गाउँ जान लागेको बताउछिन रुपन्देहीको शंकरनगर अस्थायी बसोबास गर्दै आएकी कल्पना भट्टराई। भट्टराई अर्घाखाँचीका लागि र न्यौपाने गुल्मीका लागि यात्राको तय गरेका थिए।

aa

उनीहरु जस्तै शहरमा बालबालिका पढाउन बसेका अभिभावक कोरोना भाइरसको हल्लासँगै गाउँ फर्किएका छन् भने विद्यालय क्याम्पस बन्द हुने भएपछी अन्य नागरिक पनि गाउँ हिडेका छन्। परिक्षा सकिएसँगै र कोरोनाको हल्लाले पनि गाउँ जाने यात्रुहरू बढेको बस व्यवसायी बताउछन्। केही दिन पहिला सामान्य देखिएको बुटवल बसपार्क चैत ५ पछि दिनहुँ भीडभाड नै छ।

शुक्रबार प्रधानमन्त्रीको सम्बोधन पछि त नागरिकहरु शहर भन्दा गाउँ नै ठिक भनेर पनि हिड्न थालेका छन्। मुखमा माक्स लगाएकी हातमा टिकट लिएर उभिएकी स्याङ्जा घर भै हाल लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत बिप्ना पाण्डे भन्छिन्, ‘यहाँ क्याम्पस बन्द भो कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चिन्ता पनि छ आमा बुवा गाउँमै हुनुहुन्छ गाउँ जान लागेको। सबै परिवार एकै ठाउँ भएपछि ढुक्क हुन्छ उनले भनिन,‘हामी विद्यार्थी यहाँ भाडामा बस्छांै के खाने के गर्ने गाउँ गएपछि चिन्ता पनि कम हुने भो।’

प्रदेश ५ को अस्थायी राजधानी बुटवलबाट दशैं, तिहारमा जस्तै यात्रु बाहिरिने क्रम बढी रहेको छ। बुटवलको बस पार्कमा शुक्रबार बिहानैदेखि पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्गजा, बाग्लुङ, पर्वतलगायतका पहाडी जिल्ला जाने मानिसको भीड लागेको हो। बुटवलबाट कति नागरिक बाहिरीए भन्ने आधिकारीक तथ्याङ्क छैन। तर, पनि दिनहुँ हजारौं नागरिक शहर छोडेर गाउँ लागेको आँकलन गर्न सकिन्छ।

ssss

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ। यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। त्यसका साथै मास्कको प्रयोग गर्ने, मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्