कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस् : मन्त्री भट्ट

Lekhraj_Batta
लोकपाटी न्यूज

काठमाडौं, ९ चैत। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको बताएका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको बताएका हुन्।

उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलि गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ।’ साक्षात्कारमा बोल्दै मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे। उनले भने,‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्।

यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन्। हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं,कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ।’ खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उनले बताए।

उनले भने,‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ।हामी विशेष तयारीका साथ काम गरिरहेका छौं।’ मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने पनि बताए। उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए। उनले भने, ‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ। तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन्।

त्यसलाई कन्ट्रोल गर्नुपर्छ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए। उनले भने,‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ। हामीले अहिले जनचेतना बढाउनुपर्छ।’

उनले अहिले नेपालमा खेतीबारीमा लगाएका उत्पादनहरु भित्रिनेपनि समय रहेको सुनाउँदै खाद्यान्नको कुनै अभाव नहुने र आफूहरुसँग पर्याप्त स्टक रहेको पनि बताए।  उनले भने,‘हामीसँग पर्याप्त मात्रामा स्टक छ। साल्ट ट्रेडिङको
गोदाममा गएर हेर्नुहोस्। नेपाल खाद्यमा पनि हेर्न सक्नुहुन्छ।

हामीले सुपथ मुल्यका पसलहरु पनि सञ्चालन गर्दैछौं। ३–४ ठाउँबाट ग्याँस पाउँछ।’ उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए। उनले भने,‘हामीले अत्यावश्यक वस्तुको व्यवस्थापन गरेका छौं।’ उनले हरेक नागरिकले अनुगमन गर्नुपर्ने पनि सुझाव दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्