निरीक्षक पन्थीकाे नमूना काम : प्रहरी र नागरिक काेराेना सचेतना प्रशिक्षण

Govinda Panthi
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको साँखुमा रहेको प्रहरी चौकीका प्रमूख प्रहरी निरीक्षक गोविन्द पन्थीले चौकीमै डाक्टर बोलाएर आफू मातहतका प्रहरी कर्मचारीलाई कोरोना भाइरसबाट बच्ने उपायका बारेमा प्रशिक्षण गराएका छन्।

कार्यक्रममा विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रहरी कर्मचारी कर्मचारी कसरी सचेत रहने भन्नेबारे प्रशिक्षण दिइएको थियो। प्रहरी चौकीमा आई शनिबार पिपुल्स लाइफ केयर अस्पताल साँखुका डाइरेक्टर डा. राजन लुइँटेलले प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस र यसबारे बच्ने उपायबारे प्रशिक्षित गराएका हुन्। डा. लुइँटेलले प्रहरी कर्मचारी रातदिन नागरिकको सुरक्षामा खटिनुपर्ने कारण सबैभन्दा पहिले आफ्नो सतर्कता जरुरी रहेको बताए।

कार्यक्रममा प्रहरी निरीक्षक पन्थीले प्रहरी स्वस्थ रहेमात्र महामारीको जोखिमबाट नागरिकलाई बचाउन र उद्दार गर्न सम्भव हुने बताए। उनले भने, ‘प्रहरी जनताको साथी हो, जनताका हरेक दुखसुखमा पहिलो पंक्तिमा उभिने शक्ति हो प्रहरी। सबैभन्दा पहिले प्रहरी आफू स्वस्थ रहनुपर्छ। आफू स्वस्थ रहेर मात्र प्रहरीले नागरिकको सुरक्षा र आइपर्ने संकटमा उद्दारको काम गर्न सक्छ।’

पन्थीले कोरोना भाइरसको जोखिमभन्दा बढी प्रचार गरिएकाले उच्च मनोबलका साथ काम गर्न पनि प्रहरी कर्मचारीलाई आग्रह गरे। उनले भने, ‘यो महामारी विकसित मुलूकबाट क्रमशः अल्पविकसित र विकासशील मुलूकहरुतर्फ प्रवेश गरेको देखिएको छ। हामीकहाँ आवश्यक सतर्कता भन्दा पनि हल्ला बढी हुने गरेको छ। तपाईहरु पनि हल्लाको पछि नलाग्नुस्, आफ्नो सुरक्षा सतर्कतामा ध्यान दिनुस्। कार्यालय प्रमूखका तर्फबाट मैले तपाईहरुलाई गर्ने सबै सहयोगका लागि तयार छु। कार्यालयमै आएर प्रहरी कर्मचारीलाई स्वास्थ्य तालिम प्रदान गर्नुभएकोमा लुइँटेल सरप्रति प्रहरी परिवार आभारी छ।’

Sakhu police

प्रशिक्षणमा कोरोना भाइरसबारे जानकारी गराउँदै डा. लुइँटेलले विषम परिस्थितिमा प्रहरीले नागरिकको सुरक्षा गर्नुपर्ने हुँदा पहिला आफू भाइरसबाट मुक्त हुनुपर्ने बताए। उनले भने, ‘विषम परिस्थितिमा डाक्टरले बिरामीको उपचार गर्छ। प्रहरी पनि त्यस्तै हो। उसले विषम परिस्थितिमा नागरिकको सुरक्षा गर्नुपर्छ। कोरोना भाइरसबारे प्रहरी आफै सचेत नभएसम्म त्यसले समुदायको मनोबल बढाउन सक्दैन, प्रतिकूल परिस्थितिमा नागरिकको उद्दार गर्न सक्दैन। तसर्थ, कोरोनालाई आतंकका रुपमा होइन, यसबारे सतर्क रहने उपायबारे बुझ्न र बुझाउन जरुरी छ।’

निरीक्षक गोविन्द पन्थीले प्रभागमा कार्यरत प्रहरी कर्मचारीहरुलाई माक्स बितरण गर्नुका साथै प्रहरी चौकीमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ। प्रहरीले कोरोना भाइरसको जोखिम र यसबाट बच्ने उपायबारे नागरिकलाई सचेत गराउन माइकिङ र हाते पर्चा बितरणको कामसमेत गर्दै आएको छ। कोरोनाको जोखिमविरुद्ध प्रहरीले देखाएको सक्रियताको स्थानीयले प्रशंसासमेत गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्