काठमाडौं, ८ चैत। नेपाली सेनाले कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको जनाएको छ। सेनाले अहिलेको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते अडियो समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत् जनाएको छ।
आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले शनिबार एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ।
कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न सेनाले आग्रह समेत गरेको छ।
सेनाले कोरोना भाईरस (कोभिड–१९’ विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको विज्ञप्तिमा जनाएको छ।
यतिबेला, सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो।




लोकपाटी न्यूज
