सीमावर्ती नाकाबाट नेपाल आउनेको भीड

helth-desk
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा महत्वपूर्ण सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा चैत्र ९ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द हुने, अत्यावश्यकबाहेकका कार्यालयहरु बन्द रहने, लामो दूरीका यातायातका साधनहरु चलाउन बन्देज लगाउने लगायतका महत्वपूर्ण घोषणा गरेका छन्।

तर, सरकारले अन्तर्राष्ट्रिय हवाई उठान बन्द गर्ने घोषणा गरे पनि खुला सीमानाका कारण भारतीय नाकाबाट नेपाल आउनेहरुको भीड लाग्न थालेको छ। सरकारले अन्तर्राष्ट्रिय हवाई उठान त बन्द गर्‍यो। तर, पैदलमार्ग हुँदै नेपाल आउने मानिसहरुको हकमा कस्तो प्रावधान लागू हुन्छ ? यसबारेमा खासै केही घोषणा गरेको छैन। यसले सीमावर्ती नाका र आसपास बसोबास गर्ने नेपालीहरुमा सन्त्रास बढ्दै गएको छ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार सयौंको संख्यामा नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गर्नेमा अधिकांश नेपालीहरु भए पनि केही भारतीय नागरिकसमेत हुनसक्ने कञ्चनपुरका पत्रकार विष्णु अवस्थीले बताए। ‘सीमा नाकाबाट नेपाल आउनेको भीड छ। नेपाल आउनेमा अधिकांश रोजगारीका क्रममा भारत गएका नेपालीहरु छन्। तर, भारतीयहरु पनि आएका हुन सक्छन्’ पत्रकार अवस्थीले भने, ‘नाकामा को नेपाली, को भारतीय भन्ने छुट्याउन कुनै चेकजाँच गरिएको छैन, गर्नसक्ने अवस्था पनि छैन

शनिबार बिहान मात्रै सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले नाकाको निरीक्षण गरेको अवस्थीले बताए। ‘आज मात्रै मूख्यमन्त्रीले सीमा नाकाको निरीक्षण गर्नुभएको छ’ अवस्थीले भने, ‘तर सीमा नाकामा देखिएको भद्रगोलले हामीले चिन्तित बनाएको छ। नाकामा तापक्रम त नापिएको छ। तर, त्यो पनि सबैको नाप्न कठिन छ। मानिसको भीडका कारण कर्मचारीलाई काम भ्याउनै कठिन छ।’

90184362_2723099001072918_2111092248367071232_n

नाकामा तीन जना स्वास्थ्य प्राविधिक खटाइएको अवस्थीले बताए। उनले भने, ‘तीन जना स्वास्थ्यकर्मी खटाइएको छ। तर, कोही लाइनमा बस्दैनन्, प्रहरी पनि नाकाबाट आउनेलाई परैबाट सम्झाउन खोज्छ। तर, छोइए संक्रमण होला कि भन्ने डरले प्रहरी आफै त्रसित छ। उनले नाकाबाट भारतीय नागरिकको बाक्लो प्रवेश नदेखिए पनि घर फर्केका नेपालीहरुको स्वास्थ्य परीक्षणमा सरकार संवेदनशील हुनुपर्ने बताए।

सीमा नाकाबाट नेपाल आउनेहरुलाई भारतीय प्रहरीले पनि कुनै कडाइ गरेको छैन। ‘भारतबाट नेपाल आउनेहरुका लागि भारतीय प्रहरीले बाटो सहज बनाइदिएको छ’ अवस्थीले भने, ‘तर, नेपालबाट भारत प्रवेश गर्नेहरुका लागि भने निकै कडाइ गरिएको छ। महेन्द्रनगरबाट २२ किलोमिटरको दूरीमा पर्ने भारतको खटिमा भन्ने ठाउँमा पाँच मानिसलाई कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। त्यसले पनि सीमावर्ती नाकामा त्रास बढेको अवस्थीले बताए।

नेपालगञ्जको रुपडिया नाकाबाट पनि नेपाल आउनेहरुका भीड बढेको छ। कामका लागि भारत गएकाहरु उक्त नाका हुँदै नेपाल आउन थालेको बाँके क्षेत्र नं.–१ का संघीय सांसद महेश्वर गहतराजका स्वकीय सचिव दीलिप सोनीले बताए। सोनीका अनुसार अहिले उक्त नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको चाप बढेको छ। नाकामा सामान्य ज्वरो नाप्ने गरिए पनि खास सावधानी पुग्न नसकेको उनले बताए।

‘सीमा नाकामा त चेकिङ भइरहेको छ’ सोनीले भने, ‘तर खुला सीमाका कारण नाका आसपासका खेतबाट पनि नेपाल आउनेहरु छन्। गलत नियत भएकाहरु नाकाबाट हिँड्दैनन्। उनीहरु नाका छलेर कालोबजारी गर्छन्। यसमा सरकारको खास ध्यान पुगेको छैन। नेपाल र भारत दुवैतिर पारिवारिक सम्बन्ध भएकाहरु पनि यस्ता नाका प्रयोग गर्छन्। यो हाम्रा लागि जोखिमपूर्ण कुरा हो।’

सरकारले नेपालगञ्जको जमुनाह नाकालाई पूर्ण रुपमा बन्द गर्न नसक्दा चोरबाटो भएर वारपार गर्न थालिएको हो। मूख्य नाका जमुनाहमा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको चेकजाँच भए पनि नाकाको नजिकै रहेका पूर्वतिरका बाटो भएर खुलमखुला बिना चेकजाँच वारिपारि गर्नेको भीड भने अहिले थेगी नसक्नुको रहेको छ।

जमुनाह नाकाको पूर्वतर्फ लगभग डेढ किलोमिटरको दूरीभित्र तीनवटा बाटो छन्, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुँदा अहिले साइकल, रिक्सा, मोटरसाइकल र पैदल यात्रु खुल्ला रुपमा ओहोरदोहोर गरिरहेका छन्। ओहोरदोहोर गर्नेमा प्राय नेपालगञ्जका उद्योग कलकारखानामा काम गर्ने भारतीय सीमा क्षेत्रका मजदुर र सामान क्यारिङ्ग गर्नेहरु देखिएका छन्।

यता वीरगञ्जमा रहेको नक्सौल नाकाको अवस्था पनि उस्तै छ। ‘रक्सौल नाकाबाट कालोबजारी भएको छैन। तर, नेपाल प्रवेश गर्नेहरुको तापक्रम जाँचका कारण भीडभाड देखिएको छ’ नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले लोकपाटीसँग भने, ‘वीरगञ्ज नेपाल–भारत सीमाको सबैभन्दा महत्वपूर्ण नाका हो। खुला सीमा भएका कारण चोरबाटोबाट नेपाल आउन चाहे जो पनि आउन सक्छ। त्यसैले सरकारले त्यस्ता नाकाहरुमा निगरानी बढाउन जरुरी छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्