कोरोना त्रास : मलामीका लागि पनि संख्या तोकियो

pashupati1
लोकपाटी न्यूज

काठमाडौं, ६ चैत। कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो।

‘मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं, पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पूजाआजा कर्मकाण्डहरूसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइसकेका छौं,’ ढकालले भने। ढकालका अनुसार पशुपति आर्यघाटको पारीपट्टि हुने आरतीसमेत बन्द गर्न निर्देशन दिइएको छ।

पशुपतिमा हरेक साँझ आरती हुने गर्छ। जहाँ सयौं मानिस आरती सुन्न आउँछन्। पशुपतिमा हुने पूजाआजा र नगरी नहुने आरती भने नरोकिने ढकालले जानकारी दिए। यी निर्देशन पालना गराउन कोषले कोषाध्यक्ष मिलन कुमार थापाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्