कोरोनाविरुद्ध सरकारको चुस्त तयारी

corona-Ishor-Pokhrel-led-committe
लोकपाटी न्यूज

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ। उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपाय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए।

चिकित्सकहरूले पनि कोरोना भाइरस नभित्रिएकाले आत्तिनपर्ने अवस्था नभएको बताएका छन्। प्रदेश सरकारलाई आवश्यक आइसोलेसन बेड तयारी अवस्थामा राख्न उच्चस्तरीय समन्वय समितिले निर्देशन दिइसकेको छ। प्रदेश सरकारहरूले पनि आइसोलेसन बेड बनाउने कार्यलाई अघि बढाइसकेका छन्। यस्तै, विमानस्थलमा थर्मल गनसहित स्वास्थ्यकर्मी दिनरात खटिएका छन्। जिल्लाजिल्लामा कोरोना भाइरस संक्रमणबाट बच्न सचेतना पैदा गर्ने काम भइरहेको छ।

आवश्यकताअनुसार कम्तीमा १ सय १५ वटा आईसियू बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ। यस्तै, स्वास्थ्य सामग्रीहरू र कीट अभाव हुन नदिने गरी सरकारले तयारीलाई तीव्र पारेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरूलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको तयारी छ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्। चिकित्सकले कोरोना भाइरसबाट बच्न पर्याप्त मात्रामा सरसफाइमा ध्यान दिनुपर्ने र भीडभाडमा नजान सुझाव दिएका छन्। सरुवा रोग अनुसन्धान विशेषज्ञ डा. जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन। तर, सतर्कता अपनाउनैपर्छ। नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ।’ उनले कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए।

राजधानी दैनिक लेख्छ – चिकित्सकहरूले भाइरस संक्रमण हुँदैमा मृत्यु नहुने भएकाले त्रसित हुनु नपर्ने बताएका छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए।

सरकार देशभरका अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण गर्ने तयारीमा छ। चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन (इन्फाइरेड थर्ममिटर) सहयोग गरेको छ। हालसम्म कोरोना संक्रमणबाट १० हजार बढीको जनाको ज्यान गएको छ भने २ लाख २२ हजार ६ सय ४३ जनामा संक्रमण देखिएको छ। १ सय ५९ देशमा कोरोना संक्रमणको प्रभाव परेको छ।