‘भेटिएका कोरोना संक्रमितलाई डाक्टरले फर्काइदिन्छन्’

charan prasai
लोकपाटी न्यूज

नागरिक समाजका अगुवा चरण प्रसाइले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन्। उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फकाइदिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे।

उनले भने, ‘बिरामी फर्काउने र राम्ररी चेकजाँच नहुने भएपछि सरकारलाई कसरी विश्वास गर्ने ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिका कारण पनि झन विश्वसनीयता गुम्दै गएको उनको भनाइ थियो।

प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकर्षण गराए। सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो। धेरै मानिसमा समस्या लिएर अझैप नि कहाँ र कसरी जाने भन्नेमा अन्यौलता रहेको भन्दै सरकारले जनतालाई स्पष्ट र आश्वस्त पार्न नसकेको उनको गुनासो थियो। उनले भने, ‘सरकारले जनताको आशंका मेटाउनुपर्छ।’

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीत राम लामाले कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको बताए। उनले आफूहरु सरकारसँग सहकार्य गरी महामारी नियन्त्रण गर्न तयार रहेको जानकारी दिए ।

सरकारले यसमा जनतालाई विश्वास दिलाउन नसकेको भन्दै उनले सबैको आफ्नो कार्यक्षेत्र सुरक्षित भई ढुक्क महसुस गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरे। उनले भने, ‘सरकारले ढुक्क हुनेगरी वातावरण बनाउनुपर्छ। स्वास्थ्यकर्मी, मिडिया र नागरिकलाई कसरी सुरक्षित हुने भन्नेमा तालिम दिन पनि म आग्रह गर्दछु।’

उनले यो महामारीबाट बच्नको लागि अन्र्तराष्ट्रिय स्तरमा गैरसरकारी संस्थाहरुलाई सहयोग माग्नुपर्ने पनि बताए। उनले यसमा समुदाय र सामुदायिक संस्थालाई परिचालित गर्नु सरकार तयार भएमा नागरिक समाज पनि तयार रहेको बताए।

उनले सरकारको आलोचना भन्दा पनि महामारीको विरुद्धमा कसरी लड्ने भन्नेमा सचेत हुनु आजको आवश्यकता रहेको बताए। सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गर्दै उनले यो लडाई जितेमा सारा नेपालीको जीत हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्