इटालीमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ सय ७५ जनाको मृत्यु

लोकपाटी न्यूज

काठमाडौं, ६ चैत। कोरोना भाइरसका कारण एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । इटलीमा एकैदिन कोरोना भाइरसका कारण यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नराम्ररी इटाली प्रभावित बनेको छ।

इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ भने ३५ हजार ७ सय १३ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा मात्रै इटली ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।इटालीको सबैभन्दा बढी प्रभावित भएको लोम्बार्डी क्षेत्रमा मात्रै एकैदिन ३ सय १९ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा देखिएको कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा बढी इटली प्रभावित बनेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा ३ हजार २ सय ३७ जना रहेका छन् । चीनमा भने संक्रमणको प्रभाव घट्दै गएको छ ।

पछिल्लो २४ घन्टामा चीनमा एक जना पनि नयाँ संक्रमित भेटिएका छैनन् भने कसैको पनि मृत्यु भएको छैन । कोरोना भाइरसका कारण हालसम्म २ लाख १९ हजार संक्रमित भइसकेका छन् । जसमध्ये ८४ हजार निको भएका छन् । पछिल्लो २४ घन्टामा मात्र विश्वभर ९ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । इरानमा १ सय ४७, स्पेनमा १ सय ५, फ्रान्समा ८९, अमेरिकामा ४४, बेलायतमा ३३, नेदरल्यान्डस्मा १५, दक्षिण कोरियामा १०, इन्डोनेसियामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।