प्रचण्ड प्रिय नेता हुनुहुन्छ, मैले ठूलो गल्ती गरें : रतन तिरुवा

ratan tiruwa 2020 (1)
लोकपाटी न्यूज

काठमाडौं, चैत्र। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहारको आरोपमा पक्राउ परेका जुम्ला सिञ्जाका रतन तिरुवाले आफ्नो आवेश र आवेगका कारण उक्त घटना घटेको स्पष्ट पारेका छन्। उनले अध्यक्ष प्रचण्ड आफ्नो प्रिय नेता भएको समेत बताए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट बुधबार अपरान्ह ५ सय धरौटीमा रिहा भएलगत्तै तिरुवाले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो स्पष्टीकरण दिएका हुन्। उनले भने, ‘म विद्यार्थी हुँ, कर्णालीबाट अध्ययनको लागि नै काठमाडौं आएको हुँ। एउटा विद्यार्थी हुनुको नाताले आफ्नो राज्यप्रति, भूमीप्रति, देशप्रति माया र प्रेम गर्न पाउनु अथावा गर्नु स्वभाविकै कुरा हो।’

तिरुवाले आफू जनयुद्धको सहिद परिवारको सदस्य समेत रहेको स्पष्ट पारे। उनले भने, ‘प्रचण्ड मेरो लागि प्रिय लिडर हो। तर, त्यहाँभन्दा अझ प्रिय सत्यता छ। संसार सत्यतातिर छ। म पनि युवा हुनुको नाताले सत्यतिर लागिरहेको थिएँ। उहाँमाथि जुत्ता प्रहार गर्ने कुनै मेरो इन्टेन्शन थिएन। म एउटा सामान्य मान्छे हुँ। एउटा गरिबको छोरा हुँ। कर्णालीबाट पढ्न आएको हुँ। लोकसेवा स्टुडेन्ट पनि हुँ। हिजो जनयुद्धदेखि अहिलेसम्मको बाटो हेर्दै गर्दा कतै कहीँ चुकेकोजस्तो, उहाँ चाहीँ आफ्नै लिडर भएको नाताले, केही कमी कमजोरीहरु देखिँदा युवाको नाताले आवेग, आक्रोश हुनु स्वभाविक होजस्तो मलाई लाग्छ।’

उनले आफू ५ सय धरौटीमा रिहाइ भएको समेत जानकारी दिए। उनले थपे, ‘अर्को कुरा, दुर्घटना हुनु एकदम दुःखद् कुरा हो। तर, नचाहँदा नचाहँदै पनि घटनाहरु हुन्छन्, घट्छन् । त्यही भएको हुनाले अब यस्तै हो। दुर्घटना भइहाल्यो।

तपाई भाइरल भइसक्नुभएको छ ? अब तपाई सक्रिय राजनीतिमा लाग्ने कि सामान्य जीवन व्यतित गर्ने भनेर सोधेको प्रश्नमा तिरुवाले भने, ‘यस्तो छ म एउटा विद्यार्थी हुँ। अहिलेको टाइम भनेको नै शिक्षा ग्रहण गर्ने टाइम हो। म पढिराख्या छु। मैले सर्बेतिरको अमिनी सकेर लोकसेवाको तयारी गरिरहेको छु। प्लस टु पनि गरेको छु। अहिले म विद्यार्थी हुँ। पढिरहेको छु। भोलि के हुन्छ ? कसले कहाँ देखेको हुन्छ र ?’

उनले आफूले प्रचण्डसँग धेरैपटक भेटवार्ता गरेको समेत स्मरण गराए। उनले भने, ‘मैले भनिहाँले, उहाँ मेरो प्रिय नेता हो। धेरैपटक उहाँसँग भेटेको छु। उहाँ प्रिय नेता हो। सबै नेताहरुले देश बनाउने काम गर्नुपर्छ। लोककल्याणकारी काम गर्नुपर्छ। एउटा युवाको नाताले पनि हाम्रो चासो त्यही हुन्छ। हामी देश बनेको हेर्न चाहन्छौं। भत्केको हेर्न चाहँदैनौं।’

उनले आफूलाई अहिलेसम्म सुरक्षासम्बन्धी कुनै धम्की नआएको नसुनाए। तर, भोलिको बारेमा भन्न नसक्ने उनले सुनाए। उनले भोलिका दिनमा व्यक्तिगत रुपमा सुरक्षाको प्रत्याभूतिका लागि भने सरकारसमक्ष आह्वान गरेका छन् ।