काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ। आयोजना अधिकारीका अनुसार जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने देखिएको हो। सोमबार मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण गरिएको छ।
आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरूको परीक्षण कार्य जारी रहेको छ। सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो। एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको हो।
परीक्षणमा उक्त सुरुङमार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताए। खत्रीका अनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ। सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि असोज महिनाको अन्ततिरबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी निर्माण रहेका कामहरूको निर्माण सुरु भएपछि बितेका ५ महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ। यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य सफल हुने देखिएको छ।
मुहानमा बन्ने हेडवर्क्स निर्माणका फिनिसिङको कार्य भने वर्षायामपछि नै सम्पन्न गर्ने लक्ष्य रहेको छ। मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माण कार्यको मूलभूत काम सम्पन्न भइसकेका कारण फिनिसिङको काम बाँकी रहँदाको अवस्थामा पनि कफरड्यामको माध्यमबाट वैकल्पिक डाइभर्शन प्रणाली हुँदै मुख्य टनेलबाट सुन्दरी जलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्ने आयोजनाको तत्कालको प्रयास रहेको र यो काम निर्धारित समयभित्रै सम्पन्न हुने आयोजनाको विश्वास छ।
सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेसन साफ्टहरु, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका कामहरू पनि गरिरहेको छ। यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रूपमा अघि बढिरहेका छन्।
मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवर्क्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेसनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
हेडवर्क्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यी कामहरू पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ। आगामी जेष्ठ १५ सम्ममा यी कामहरू सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।
गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्त्वपूर्ण छ। यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रूपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरुप निर्माण कार्य भइरहेको छ। जेष्ठ मसान्तसम्ममा गेट निर्माणका कामहरू सम्पन्न हुने आयोजनाको विश्वास छ।
भेन्टिलेसन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका बाबजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य सुरु भएको छ एवं असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। स्काडा प्रविधि जडानको कामले गति लिएको छ। बाँकी रहेका निर्माण कार्यहरू केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ। साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ। सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात् पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ।
निर्माणको सिलसिलामा खण्ड खण्ड रूपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाइ सम्पन्न गरिएको र यही चैत्र महिनाको सुरुमै यस खण्डको परीक्षण गरिने लक्ष्य रहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए।



लोकपाटी न्यूज

