कतारको श्रम स्वीकृति बन्द

waideshik
लोकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगार विभागले पनि मंगलबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागले कतारको निर्णयअनुरूप विभागबाट प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । उनले कोरोना भाइरस प्रभावबाट उत्पन्न जोखिम हटेर अर्को सूचना जारी नभएसम्म कामदारका लागि प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित भएको जानकारी दिए । मंगलबारदेखि नै संस्थागत एवं व्यक्तिगत दुवै श्रम स्वीकृति दिने काम बन्द भएको बताए । यसअघि करिब दुई महिनासम्म विभागबाट कतार जान ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोहीअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।

विगत ५८ दिनमा विभागले १ लाख १७ हजार ६ सय ३३ जनालाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिएको थियो । तीन महिनाअघि गत डिसेम्बरमा चीनबाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि कतारले नेपाल, चीन, भारत, बंगलादेश, इजिप्ट, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

कतारमा कोरोना संक्रमितको संख्या बढेको पुष्टि भएपछि सो कदम चालिएसँगै अहिले त्यसको असर नेपाली कामदारमा परेको छ । कतारमा हाल करिब साढे ४ लाख नेपाली कामदार कार्यरत छन् । यस्तो अवस्थामा पनि कतारको राष्ट्रिय ध्वजावहाक विमान सेवा कतार एयरवेजले भने दोहा पुग्ने यात्रुका लागि खरिद भएका हवाई टिकट बुकिङसमेत पछि सार्ने सुविधा दिएको छ । कोरोना भाइरस प्रभावकै कारण कतारले नेपाली कामदार लिन प्रतिबन्ध लगाएपछि अब नेपालले त्यहाँबाट प्राप्त गर्ने रेमिट्यान्स रकमसमेत घट्ने भएको छ ।

अहिले कतार मात्र होइन, अहिले नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने अन्य मुलुक साउदी अरब, बहराइन, मलेसिया, दक्षिण कोरिया, जापानलगायत विभिन्न युरोपियन मुलुकमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसकारण, ती मुलुकबाट नेपाल भित्रिने रेमिट्यान्स रकम घट्ने सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट कतारको दोहामा भर्दै आएको नियमित उडान स्थगित भएको छ ।

कतारले गरेको अस्थायी प्रतिबन्धको निणर्यसँगै निगमले पनि मंगलबारबाट लागू हुने गरी काठमाडौंबाट दोहामा भर्दै आएको नियमित उडान केही समयका लागि स्थगित गरेको छ । कतारको यस्तो नियमले अब नेपालीहरू पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान मंगलबारदेखि अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गर्नुपरेको निगमले जनाएको छ । निगमका अनुसार सोमबार र त्यसभन्दा पछिका उडानका टिकट खरिद गरेका हवाई यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । यसैगरी, हवाई टिकटमा उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न पनि थप शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले हाल काठमाडौंबाट दोहाका लागि दैनिक एउटा उडान भरिरहेको थियो ।

संयुक्त अरब इमिरेट्समा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आबुधावीस्थित नेपाली राजदूतवासले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । गत सोमबार यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामी भेटिएको र तीमध्ये दुई जना नेपाली पनि रहेको बताइएको थियो । दुई जना नेपालीमा कोरोना देखिए पनि उनीहरू को हुन् र यूएईमा के गर्थे भन्नेबारे अझै केही खुलेको छैन । अहिले आफूहरूले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत ती नेपालीको विवरण मागेको दूतावासका सूचना अधिकारीले जानकारी दिए । यूएईमा करिब २ लाख ७५ हजार नेपाली कार्यरत छन् । राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्