जनताको सम्पत्ति सुरक्षित गर्दैछौं : मन्त्री अर्याल

padma aryal
लोकपाटी न्यूज

स्याङ्जा, २३ फागुन । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी हुन्।

त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्घा्टन गरिन्। विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या छन्। यो विशेष नापीले हिजोको नापनक्सा गर्ने तरिकाका कारण आज समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताइन्। ’ पुनः नापनक्सा हामीले ल्यायौं। जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ। उहाँहरुले राहत पाउनुहुनेछ’, मन्त्री अर्यालले भनिन्, ’हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन्। यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं।’

यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत् अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन्। अर्को स्याटेलाइट इमेज र टोटल स्टेसनलाई मिसाउने हो भने मेरो जग्गाको नक्सा कुन् हो भनेर ठ्याक्कै छुट्याउन सकिने भन्दै मन्त्री अर्यालले पृथ्वीको शुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि शुरु गर्ने योजनामा रहेको बताइन्। धेरै उन्नतखालको प्रविधि प्रयोग गरेर जग्गाजमिनको नापनक्सा गर्ने अभियानमा रहेको भन्दै मन्त्री अर्यालले अब नापनक्सा सम्बन्धी समस्या नहुने बताइन्।

अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त हुने मन्त्री अर्यालले बताइन्। मन्त्रालयअन्तर्गतका कार्यालयको सेवा प्रवाहमा औला उठेपछि सुशासनका पक्षमा काम गर्न प्रविधिको प्रयोग गरेर जानुपर्छ भन्ने मान्यताका आधारमा अगाडि बढेको उनले बताइन्। ’हामी सुशासनको संकल्पका साथ सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर अगाडि बढेका छौ। प्रविधिको प्रयोग गर्दा केही समस्या आए तर अब त्यस्तो हुँदैन। कर्मचारीको पनि स्किल बढ्न थालेको छ र सर्भर डाउन हुने समस्यालाई पनि समाधान हुँदै गएको छ’, मन्त्री अर्यालले भनिन्।

सबै कार्यालयलाई डिजिटलाइज्ड गरेर जनताको सम्पत्ति संरक्षण गर्ने अभियानमा आफू रहेको भन्दै अर्यालले भनिन्। उनले भनिन्, ’जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । हिजो के भयो बिर्सिदउ। अब यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ। हामी त्यही अभियानमा लागेका छौ।’ हिजो चुनावमा गरेका संकल्पहरु पूरा गर्नका निम्ती संघको सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले उद्योगग्राम, अस्पताल जस्ता पूर्वाधारहरु विकास गर्नका निम्ती प्रकृया अगाडि बढिसकेको बताए।

जिल्लाको विकासका निम्ती समन्वयात्मक रुपमा सुरु गरेको भन्दै मन्त्री अर्यालले यसमा कसले के ग¥यो वा गरेन भनेर कित्ताकाट गर्न जरुरी नभएको बताइन्। ’हामी सल्लाह गरेरै काम गर्न लागेका छौ। हाम्रो ठाउँको विकास गर्न लागेका छौ। कामको थालनी गरेका छौ’, मन्त्री अर्यालले भनिन्, ’काम हुन्छन्। पैसाको कारण भएन भन्ने कुरा छैन। नगरौं भन्ने हुँदैन। गर्दागर्दै कति काम गर्न सकिन्छ भन्ने कुरा हो।’मन्त्रालयका सचिव केदार न्यौपानेले स्याङ्जा जिल्लाबाट नेपालका अरु जिल्लाहरुले सिक्ने बताए। जिल्लाभर व्यवस्थित रुपले नापी सम्पन्न गर्न राजनीतिक अगुवा तथा जनप्रतिनिधिहरुले सहजिकरण गर्नुपर्ने बताए।

टोटल स्टेशन (टिएस) मेशिनमार्फत् अब स्याङ्जामा पुनः नापनक्सा कार्य हुनेछ। मेसिनको प्रयोगमार्फत् जग्गाको डिटेलको कोअर्डिनेट तत्कालै दिन सकिने बताइएको छ। यसले करिव ५ देखि ८ किलोमिटर दुरिसम्मको रिडिङ गर्न सक्ने ५ विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिए। १२० जना पुरा दरबन्दी पूरा भएमा ५र६ वर्षको अवधिमा जिल्लाभरको नापनक्सा सम्पन्न गरिसक्न नापी अधिकृत गौतमले जानकारी दिए।

विशेष नापी सम्पर्क कार्यालय वालिङ स्याङ्जाका टोली प्रमूख सुविन्द्र श्रेष्ठको नेतृत्वमा स्याङ्जा जिल्लाभरको जग्गाको नापनक्सा हुनेछ। यसको संयोजन भने विशेष नापी कार्यालय पाल्पाले गर्नेछ। भवनको बारेमा जानकारी दिँदै नापी कार्यालय वालिङका कार्यालय प्रमूख विवेक तिवारीले एक रोपनी चार आना जग्गामा आठ कोठाको पक्की भवन निर्माण गरिएको जानकारी दिए। कार्यालयमा सेवाग्राहीका लागि अपांगमैत्री शौचालय, प्रतिक्षालय, सबै सेवाग्राहीले बाहिरबाट पनि देख्न सक्ने र कार्यालयका कक्षकहरु लगायतको व्यवस्था गरिएको प्रमूख तिवारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्