काठमाडौं । मुगु जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात परेको छ । सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन झन कष्टकर बनेको हो।
सदरमुकाम गमगडी र आसपासका गाँउमा बिहान आठ बजेदेखि लगतार वर्षा भएको छ। जिल्लाका अन्य सबै बस्ती तथा उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपातका कारण जिल्लाभरको जनजीवन कष्टकर भएको छ। हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा गमगडी सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेको छन्। नेपालगञ्ज र सुर्खेतबाट आउँदै गरेको यात्रुबाहक तथा व्यापारीका सामान ल्याएर आएका सवारी साधन बाटोमै थन्किएका छन् भने हवाई सेवाबाट यात्रा गर्ने यात्रुहरु रारा विमानस्थलताल्चामा अलपत्र परेका छन् ।
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका ९ वडाका १५ बस्तीमा सबै भन्दा बाक्लो हिमपात परेको छ। हिमपातले गर्दा सबै भन्दा बढी पशु चौपायलाई घाँसपात तथा जङ्गलमा चराउन समस्या भएको छ । खत्याड गाउँपालिकाको खमाले, चाकपाडे, निगालबोट, जम्फै सेरी, डाडुपाटा, रोल, जिउका गम्थालगायत बस्तीमा समेत हिमपातले जनजीवन कष्टकर बनेको छ। सदरमुकाम गमगडीबाहेक छायाँनाथ रारा नगरपालिकाको १४ वटै वडा र सोरु गाउँपालिकाको ११ वटै वडामा हिमपात भएको छ।
सदरमुकाम गमगडीबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक गाडी जुम्ला र मुगुको सिमानमा पर्ने घुच्चिलेखमा हिमपातले गर्दा यात्रुहरु अलपत्र परेपछि नेपाली सेनाको श्रीदल गुल्मको बुलबुले पोष्टका सेनाले उद्धार गरेका छन्। त्यस्तै शुक्रबार बिहान रारा घुम्न गएका आठ जना बालिकालाई रारामा बाक्लो हिमपातपछि उनीहरुको उद्धार गरिएको रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति निरजन धामीले जानकारी दिए। धामीका अनुसार रारा क्षेत्रमा एक फिट भन्दा बढी हिउँ जमेको छ।
रारा घुम्न गएका र सदरमुकाम गमगडीबाड सुर्खेत जाँदै गरेका यात्रुलाई नेपाली सेना र प्रहरीले उद्धार गरेको छ। प्रहरीको पिना प्रहरी चौकीले मोटरसाइकलसहित छायाँनाथ रारा नगरपालिका(७ घुच्चिलेखको सातमोड भन्ने ठाउँमा हिउँमा फसेका पाँच जनाको उद्धार गरी प्रहरी चौकी रैसेरी पिनामा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।



लोकपाटी न्यूज

