काठमाडौ । गिरिजाप्रसाद कोइरालाबारे पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा कांग्रेसले आपत्ति जनाएको छ ।नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति निकाल्दै प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै कांग्रेसले प्रचण्डको भनाइलाई विरोधाभाषपूर्ण भएको जनाएको छ ।
नेकपाका अध्यक्ष प्रचण्डलेले बिहीबार तत्कालिन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई फौजी आक्रमण बढाइदिन आग्रह गरेको दावी गरेका थिए । बिहीबार जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गिरिजाप्रसाद कोइरालाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।
बिहीबार कांग्रेसका प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले उक्त भनाइको खण्डन गर्दै प्रेस विज्ञिप्त जारी गरेका हुन् । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ विज्ञप्तिमा भनिएको छ ।
शर्माले प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको पनि बताए । साथै, गिरिजा जीवीत छँदा नै नभनेकोमा पनि कांग्रेसको गुनासो छ ।शर्माले ‘गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि सांच्चै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जीवीत छँदा नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका वर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ,’ भनेका छन् ।



लोकपाटी न्यूज

