काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन्। उनले भने, ‘अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौं, त्यो गरिदिन्छौं, यहाँ जानपर्यो, त्यहाँ जानपर्यो भन्यो भने त्यसको पछि नलाग्नु होला।’
बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको समेत बताए। उनले प्रमूख दलहरूबीच सहमति हुन नसक्दा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सात्तो जाने गरी उजुरी परेको बताए।
‘सत्य निरूपण आयोगमा ६६ हजार उजुरी परेका छन्,’ उनले भने, ‘दलहरूबीच कुरा नमिल्दा त्यति धेरै उजुरी परेका हुन्, खासमा २-३ हजारभन्दा बढी उजुरी नै आवश्यक थिएन।’ संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउन अहिले नेकपा र कांग्रेसलगायतका बीचमा सहमति भएकाले समस्या नहुने उनले बताए।
‘अहिले नेकपा र कांग्रेसका बीचमा द्वन्द्वकालीन मुद्दालाई लिएर सहमति भएको छ,’ अध्यक्ष दाहालले भने, ‘मिलेरै कानून बनाउँदैछौं, मिलेर नेतृत्त्व चयन गरेका छौं। एउटै निर्णयबाट धेरै काम गर्न सक्छौं।’
अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको भन्दै उनले कतिपयलाई शान्ति प्रक्रियाका बाँकी काम २०/२५ वर्ष नटुंगिओस्, खेल खेल्न पाइराखियोस् र केही मान्छेलाई लाभ दिने उद्योग चलाइराख्न पाइयोस् भन्ने लागेको सुनाए। ‘घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने। तपाईहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, प्याइदियो। मोटो रकम चाहिँ चलखेल गर्ने आईएजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ’ प्रचण्डले भने।
घाइते तथा अपाङ्गहरुलाई जे गर्नुपर्ने हो दलहरु र सरकारले गर्नुपर्ने भन्दै उनले छिट्टै परिचयपत्र, राहत प्याकेज दिइने आश्वासन दिए। अहिले कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौं भनेर आएको र केहीले करिव एक हजार घाइते तथाअपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाए। २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गरे।



लोकपाटी न्यूज

