‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस मनाउँदैछ। २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा दिवास मनाइएको हो। नेकपाले पार्टी र भातृ संगठनमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै छ।

पार्टी कार्यालय धुम्बारहीमा विशेष कार्यक्रम नै आयोजना गरिएको छ। उक्त कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुने भनिए पनि ओली उपस्थित भएनन्। अघिल्लो वर्ष पनि जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएका थिएनन्।

कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरू सहभागी थिए। माघ २७ गते केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सूचना निकालेर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको उपस्थितिमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गर्ने उल्लेख गरिएको थियो।