काठमाडौं। वि.सं. २००७ सालको आन्दोलनले जहाँनियाँ राणाशासनको अन्त्य गरेपछि देशमा प्रजातान्त्रिक प्रणालीको सुत्रपात भयो। त्यसयता नै नेपालमा जननिर्वाचित सरकारहरु बन्न थालेका हुन्। यद्यपि, २०१७ सालमा पञ्चायतको घोषणा भएसँगै देशमा प्रजातन्त्र राजाको पञ्जाभित्र पर्यो। त्यस्तै २०५९ असोज १८ पछि राजा ज्ञानेन्द्रले फेरि दोस्रोपटक प्रजातन्त्रको अपहरण गरे।
वि.सं. २००७ सालयता कहिले जनताद्वारा निर्वाचित त, कहिले राजाको तजबिजले सरकारहरु बने। ती सबै सरकारमा शिक्षामन्त्रीहरु को–को भए ? हामीले यहाँ २००७ सालदेखि २०७६ सालसम्मको ७० वर्षको इतिहासमा नेपालमा भएका शिक्षामन्त्रीहरुको नामावली उल्लेख गरेका छौं।
(१) नृपजंग राणा – २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि उनी नेपालको पहिलो शिक्षामन्त्री भएका थिए। श्री ३ मोहनशमसेर जबराको नेतृत्वका सरकारमा उनले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी २००७ साल फागुन ७ को प्रजातन्त्रको स्थापनासँगै मन्त्री भएका उनी २००८ साल जेठको मन्त्रीमण्डल पुनर्गठनमा पनि शिक्षामन्त्रीमा निरन्तरता पाए।
(२) शारदा शमसेर जबरा – वि.सं. २००८ साल मंसीर ११ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार बन्यो। उक्त सरकारमा शारदा शमसेर जबराले शिक्षा मन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए। २००९ सालमा उक्त मन्त्रीपरिषदमा परामर्शदात्रीहरु नियुक्त भए। उक्त टीममा पनि मन्त्री जबरा थिए।
(३) श्रीपुखारसिंह प्रधान – वि.सं. २०१० साल असार ४ गते नयाँ मन्त्रीपरिषद बन्यो। उक्त मन्त्रीपरिषदका प्रधानमन्त्री थिए मातृकाप्रसाद कोइराला। उनको नेतृत्वमा गठित सरकारमा प्रधानले शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए।
(४) डा. डिल्लीरमण रेग्मी – वि.सं. २०१० सालको मन्त्रीपरिषदमा रेग्मी शिक्षामन्त्री भएका थिए। उनी २०१० साल फागुन ७ गते पुनर्गठन भएको मातृका प्रसाद कोइरालाको मन्त्रीपरिषदमा शिक्षामन्त्री भएका हुन्। उनलाई परराष्ट्र, स्वायत्त शासन र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी दिइएको थियो।
(५) बालचन्द्र शर्मा – २०१२ साल माघ १३ गते टंकप्रसाद आचार्यको नेतृत्वमा नयाँ मन्त्रीमण्डल बन्यो। उक्त मन्त्रीपरिषदमा शर्मा शिक्षामन्त्री भए। त्यही वर्षको माघ २३ गते टंकप्रसादले आफ्नो मन्त्रीपरिषद बिस्तार गरेका थिए। बिस्तारित मन्त्रीपरिषदमा पनि शर्मा शिक्षामन्त्री नै रहे। उनी नेपालको इतिहासमा तेस्रो शिक्षामन्त्री मानिन्छन्।
(६) लक्ष्मीप्रसाद देवकोटा – २०१४ साल साउन ११ गते नेपालमा नयाँ मन्त्रीमण्डल बन्यो। उक्त मन्त्रीपरिषदमा प्रधानमन्त्री थिए डा. केआई सिंह। उनको मन्त्रीपरिषदमा देवकोटाले शिक्षा तथा स्वायत्त शासन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा विश्वविद्यालयको स्थापना सम्बन्धी अवधारणा तयार भएको थियो।
(७) श्री रणधीर सुब्बा – वि.सं. २०१५ साल जेठ २ गते सुवर्ण शमसेर जबराको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त मन्त्रीपरिषदमा सुब्बाले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले शिक्षा मन्त्रालयका साथै स्थानीय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रवन्ध तथा उद्योग वाणिज्य मन्त्रीको पनि जिम्मेवारी सम्हालेका थिए।
(८) परशुनारायण चौधरी – वि.सं. २०१६ साल जेठ १३ गते नयाँ मन्त्रीपरिषद बन्यो। बिपी कोइरालाको नेतृत्वमा गठित सरकारमा चौधरी शिक्षामन्त्री थिए। यो सरकारलाई नेपालको इतिहासमा पहिलो जननिर्वाचित सरकार मानिन्छ। यही वर्षको असार १६ गते मन्त्रीपरिषद पुनर्गठन गरियो। यसमा पनि चौधरी शिक्षामन्त्री नै थिए।
(९) अनिरुद्रप्रसाद सिंह – वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए। त्यसपछि पुष १३ गते आफ्नै अध्यक्षतामा मन्त्रीपरिषद गठन गरे। उक्त सरकारमा सिंह शिक्षामन्त्री भए। सिंहले शिक्षाका साथै स्वास्थ्य, कानून, न्याय र संसदीय प्रबन्ध मन्त्रीको पनि जिम्मेवारी पाएका थिए।
(१०) विश्वबन्धु थापा – वि.सं. २०१८ सालमा पञ्चायती सरकारमा थापा शिक्षामन्त्री भएका थिए। डा. तुलसी गिरीको नेतृत्वमा गठित पञ्चायती सरकारमा उनले शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले त्यसबेला पञ्चायती शिक्षा सुदृढीकरणको पक्षमा काम गरेका थिए।
(११) कीर्तिनिधि विष्ट – वि.सं. २०१९ असार १८ गते राजा महेन्द्रले नयाँ मन्त्रीपरिषद गठन गरे। उक्त सरकारमा डा. तुलसी गिरी उपाध्यक्ष थिए। सरकारमा विष्टले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। २०१९ चैत २० मा मन्त्रीपरिषद पुनर्गठन भयो। उक्त मन्त्रीपरिषदमा उनले शिक्षाका साथै निर्माण, सञ्चार र यातायातमन्त्रीको जिम्मेवारी पाए।
(१२) पुस्करनाथ रेग्मी – वि.सं. २०२२ सालमा पुस्करनाथ रेग्मी नेपाल सरकारको शिक्षामन्त्री भएका थिए। राजा महेन्द्रले डा. तुलसी गिरीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए। गिरीले आफ्नो मन्त्रीपरिषद पुनर्गठन गर्दै २०२२ सालमा रेग्मीलाई शिक्षामन्त्री बनाएका थिए।
(१३) कीर्तिनिधि विष्ट – वि.सं. २०२३ साल चैत्र २७ गते राजा महेन्द्रले नयाँ मन्त्रीपरिषदको गठन गरे। उक्त मन्त्रीपरिषदको नेतृत्व राजा महेन्द्र स्वयंले गरेका थिए। उक्त मन्त्रीपरिषदमा विष्टले शिक्षाका साथै परराष्ट्र मन्त्रीको जिम्मेवारी पाएका थिए।
(१४) सुरेन्द्रबहादुर बस्नेत – वि.सं. २०२४ सालमा उनी शिक्षामन्त्रीमा नियुक्त भएका थिए। बस्नेत मातृकाप्रसाद कोइरालाको मन्त्रीपरिषदमा पहिल्यै मन्त्री भइसकेका थिए। यिनले शिक्षामन्त्रीको जिम्मेवारी भने २०२४ सालमा प्राप्त गरे। उनी डा. तुलसी गिरीको मन्त्रीपरिषदका मन्त्री हुन्।
(१५) गेहेन्द्र बहादुर राजभण्डारी – वि.सं. २०२५ सालमा गेहेन्द्रबहादुर राजभण्डारी शिक्षामन्त्री भएका थिए। उनको मन्त्रीपरिषदमा कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। १ वर्ष शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका राजभण्डारी २०१६ सालमा मन्त्रीपरिषदको अध्यक्ष भएका थिए।
(१६) बासुदेव प्रसाद ढुंगाना – वि.सं. २०२५ सालमा ढुंगाना नेपालको शिक्षामन्त्रीमा नियुक्त भएका थिए। कीर्तिनिधि विष्टले आफ्नो मन्त्रीपरिषद पुनर्गठन गर्दै ढुंगानालाई मन्त्रीमा नियुक्त गरेका थिए। उनले छोटो अवधि नेपालको शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए।
(१७) नरेन्द्र कुमार प्रधान – वि.सं. २०२६ सालमा प्रधान नेपालको शिक्षामन्त्री भएका थिए। उनी गेहेन्द्र बहादुर राजभण्डारीको सरकारमा शिक्षामन्त्री भएका हुन्। पञ्चायती शिक्षालाई सुदृढीकरण गर्न प्रधानले सक्रिय भूमिका खेलेका थिए।
(१८) ज्ञानेन्द्र बहादुर कार्की – वि.सं. २०२८ सालमा कार्की शिक्षामन्त्री भएका थिए। उनकै कार्यकालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना–२०२८ अघि सारियो। उनकै कार्यकालले महेन्द्रमालालाई संस्थागत गर्दै शिक्षामा पञ्चायती शासनको प्रभुत्व कायम गरेको थियो।
(१९) कृष्णराज अर्याल – वि.सं. २०३० सालमा कृष्णराज अर्यालले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी नगेन्न्द्रप्रसाद रिजालको सरकारका मन्त्री थिए। वि.सं. २०३२ सालमा राधाप्रसाद घिमिरे र २०३३ सालमा डा. तर्कबहादुर गुरुङले राज्यमन्त्रीको भूमिकामा रही शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
(२०) पशुपति शमसेर राणा – वि.सं. २०३४ साल भदौ २७ गते राजा महेन्द्रले कीर्तिनिधि विष्टको नेतृत्वमा नयाँ सरकार गठन गरे। उक्त सरकारमा राणा शिक्षा, निर्माण तथा यातायातमन्त्री भए। उक्त मन्त्रीपरिषद २०३६ वैशाख १ गते पुनर्गठन भयो। उक्त मन्त्रीपरिषदमा पनि राणा शिक्षामन्त्री नै रहे।
(२१) डम्बर नारायण यादव – वि.सं. २०३६ जेठ १८ गते जनमत संग्रह गराउने जिम्मेवारीसहित सूर्यबहादुर थापाको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त मन्त्रीपरिषदमा यादवले राज्यमन्त्रीको जिम्मेवारी पाए। शिक्षा मन्त्रालयमा अर्को मन्त्री नभएका कारण मन्त्रीको कामकाज यादवले नै चलाएका थिए।
(२२) मरिचमानसिंह श्रेष्ठ – वि.सं. २०३७ सालमा मरिचमानसिंह श्रेष्ठ शिक्षामन्त्री भएका थिए। जनमत संग्रहमा बहुदलको पराजयपछि श्रेष्ठ नेपालको शिक्षामन्त्रीमा चयन भएका थिए। सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा रहेको सरकारमा उनी एक वर्ष शिक्षामन्त्री भएका हुन्।
(२३) नारायणदत्त भट्ट – वि.सं. २०३८ साल असार २ गते सूर्यबहादुर थापाको नेतृत्वमा नयाँ सरकार बन्यो। पञ्चायतले यसलाई निर्वाचित सरकारको संज्ञा दिएको थियो। उक्त मन्त्रीपरिषदमा भट्टले शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी पाएका थिए।
(२४) फत्तेमानसिंह थारु – वि.सं. २०४० सालमा थारु नेपालको शिक्षामन्त्री भएका थिए। उनको कार्यकालमा प्रधानमन्त्री थिए डा. लोकेन्द्र बहादुर चन्द। पञ्चायतलाई संस्थागत गर्न राजा वीरेन्द्रले चन्दलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। चन्दका विश्वासपात्र मानिने थारुले २०४० सालमा शिक्षामन्त्रीमा नियुक्ति पाएका थिए।
(२५) श्रीरणधीर सुब्बा – वि.सं. २०४१ सालमा रणधीर सुब्बा शिक्षामन्त्री भएका थिए। वि.सं. २०१५ सालमा सुवर्ण शमसेर रणा नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका सुब्बा दोस्रोपटक शिक्षामन्त्री भएका हुन्। उनलाई लोकेन्द्रबहादुर चन्दले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।
(२६) केशरबहादुर विष्ट – वि.सं. २०४३ सालमा केशरबहादुर विष्ट शिक्षामन्त्रीमा नियुक्त भएका थिए। बहुदलको जनपक्षीय उपयोग भन्दै कांग्रेस र वाम मोर्चाका नेताहरु निर्वाचनमा भाग लिएका बखत उनी शिक्षामन्त्री थिए। उनी नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री रहेको मन्त्रीपरिषदमा मन्त्री थिए।
(२७) परशुनारायण चौधरी – वि.सं. २०४४ साल जेठमा मरिचमान सिंहको नेतृत्वमा नयाँ सरकार बन्यो। उक्त सरकारमा चौधरीले दोस्रोपटक शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसबखत उनी शिक्षा तथा संस्कृति मन्त्री भएका थिए।
(२८) अच्यूतराज रेग्मी – वि.सं. २०४६ सालमा रेग्मी शिक्षामन्त्रीमा नियुक्त भएका थिए। उनी पञ्चायतका अन्तिम शिक्षामन्त्री हुन्। २०४६ सालको जनआन्दोलनका बेला उनी मन्त्री थिए। उनलाई प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मन्त्रीमा नियुक्त गरेका थिए।
(२९) केशरजंग रायमाझी – वि.सं. २०४६ सालको जनआन्दोलनपछि २०४७ साल वैशाख ३ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो। उक्त मन्त्रीपरिषदमा रायमाझी शिक्षामन्त्री भए। उनले शिक्षा मन्त्रालयका साथै संस्कृति र सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी पाएका थिए।
(३०) रामहरि जोशी – वि.सं. २०४८ साल जेठ १५ गते नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार बन्यो। यो जननिर्वाचित सरकार थियो। उक्त सरकारमा जोशीले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। त्यसबखत जोशी शिक्षा तथा संस्कृति र पर्यटनमन्त्री थिए।
(३१) गोविन्दराज जोशी – वि.सं. २०४८ को जननिर्वाचित सरकारका प्रधानमन्त्री थिए कांग्रेस नेता गिरिजाप्रसाद कोइराला। उनले आफ्नो सरकारको प्रारम्भमा रामहरि जोशीलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए। पछि मन्त्रीपरिषद पुनर्गठन गर्दै कोइरालाले गोविन्दराज जोशीलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएका थिए।
(३२) मोदनाथ प्रश्रित – वि.सं. २०५१ साल मंसीर १४ गते मनमोहन अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्यो। यो नेपालमा इतिहासमा पहिलो वामपन्थी सरकार थियो। उक्त सरकारमा प्रश्रितले शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
(३३) गोविन्दराज जोशी – वि.सं. २०५२ भदौ २७ गते शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो। उक्त सरकार नेपालको इतिहासमा निकै जम्बो सरकार थियो। उक्त सरकारमा जोशीले दोस्रोपटक शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी शिक्षा तथा खेलकूदमन्त्री भएका थिए। मन्त्रीपरिषदमा नारायणप्रसाद साउद राज्यमन्त्री थिए।
(३४) देवीप्रसाद ओझा – वि.सं. २०५३ सालमा वामपन्थी नेता देवीप्रसाद ओझा श्री ५ को सरकारमा शिक्षामन्त्री भएका थिए। उनी तात्कालीन नेकपा एमाले र लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाको संयुक्त सरकारका मन्त्री हुन्। त्यतिबेला प्रधानमन्त्री थिए डा. लोकेन्द्रबहादुर चन्द।
(३५) अर्जुननरसिंह केसी – वि.सं. २०५५ सालमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए। कांग्रेस र राप्रपाको संयुक्त गठबन्धनबाट बनेको सरकारमा उनी शिक्षामन्त्री भएका हुन्।
(३६) कुलबहादुर गुरुङ – नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ वि.सं. २०५५ सालमा शिक्षामन्त्री भएका थिए। उक्त समयमा प्रधानमन्त्री थिए कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला। कोइरालाले गुरुङलाई आफ्नो कार्यकालको मन्त्रीपरिषदमा शिक्षामन्त्रीको जिम्मेवारी दिएका थिए।
(३७) योगप्रसाद उपाध्याय – वि.सं. २०५६ सालमा नेता योगप्रसाद उपाध्याय शिक्षामन्त्री भएका थिए। वि.सं. २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेपछि उपाध्याय मन्त्री बनेका थिए। उनलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।
(३८) आमोदप्रसाद उपाध्याय – कांग्रेस नेता उपाध्याय २०५८ सालमा शिक्षामन्त्री भएका थिए। २०५८ सालमा कांग्रेस नेता शेरबहादुर देउवाले गठन गरेको मन्त्रीपरिषदमा मन्त्री भएका हुन्। २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए।
(३९) देवीप्रसाद ओझा – वि.सं. २०५९ सालमा नेता ओझा शिक्षामन्त्री भएका थिए। २०५३ सालमा शिक्षामन्त्री भएका उनी दोस्रोपटक मन्त्रीमा दोहोरिएका थिए। उनी शाही सरकारको कालमा मन्त्री भएका थिए। उनलाई लोकेन्द्रबहादुर चन्दले मन्त्रीमा नियुक्त गरेका थिए।
(४०) हरिबहादुर बस्नेत – वि.सं. २०६० सालमा हरिबहादुर बस्नेत शिक्षामन्त्री भएका थिए। उनी शाही शासनका शिक्षामन्त्री हुन्। छोटो समय मन्त्री भएका उनलाई सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा मन्त्री भएका हुन्।
(४१) बिमलेन्द्र निधि – वि.सं. २०६१ सालमा कांग्रेस नेता बिमलेन्द्र निधि शिक्षामन्त्री भएका थिए। उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी दिइएको हो। आधा प्रतिगमन सच्चिएको निष्कर्षसहित २०६१ सालमा तात्कालीन एमाले र नेपाली कांग्रेस प्रजातान्त्रिकको गठबन्धन सरकारमा उनी शिक्षामन्त्री थिए।
(४२) राधाकृष्ण मैनाली – वि.सं. २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले सम्पूर्ण अधिकार आफ्नै हातमा लिई नयाँ सरकार गठन गरे। राजा ज्ञानेन्द्र स्वयं अध्यक्ष रहेको उक्त मन्त्रीपरिषदमा वामपन्थी पृष्ठभूमि भएका मैनाली शिक्षा तथा खेलकूद मन्त्री भएका थिए।
(४३) डा. मंगलसिद्धी मानन्धर – वि.सं. २०६२÷०६३ को जनआन्दोलनपछि २०६३ वैशाख १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो। राजाको अधिकार खोसिएको उक्त मन्त्रीपरिषदमा मानन्धर शिक्षामन्त्री भए। यही सरकारले माओवादीसँग वार्ता प्रक्रियालाई निष्कर्षमा पुर्याएको थियो। उनले शिक्षा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
(४४) प्रदीप नेपाल – वि.सं. २०६४ सालमा नेपालको अन्तरिम संविधानमा सहमति भयो। त्यसपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। उक्त मन्त्रीपरिषदमा तात्कालीन एमालेको तर्फबाट नेपाल शिक्षामन्त्रीमा नियुक्त भए।
(४५) रेनुकुमारी यादव – वि.सं. २०६३ भदौ १९ गते प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भयो। यो पहिहलो संविधान सभाको निर्वाचनपछिको पहिलो गणतान्त्रिक सरकार थियो। उक्त सरकारमा मधेशी अधिकारी फोरमकी नेतृ रेनुकुमारी यादवले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
(४६) सर्वेन्दनाथ शुक्ला – वि.सं. २०६६ जेठ ११ गते वामपन्थी नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा सर्वेन्द्रनाथ शुक्ला शिक्षामन्त्री भएका थिए। कांग्रेस र एमाले सम्मिलित सरकारको शिक्षा राज्यमन्त्री चाहिँ गोविन्द चौधरी थिए।
(४७) गंगालाल तुलाधर – २०६७ माघ २३ गते नेपालमा नयाँ मन्त्रीपरिषद गठन भयो। तात्कालीन एमाले र माओवादी सम्मिलित सरकारमा तुलाधर शिक्षामन्त्री थिए। उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
(४८) दीनानाथ शर्मा – वि.सं. २०६८ भदौ १२ गते तात्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा शर्माले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उक्त सरकारमा लीला भण्डारीलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो। २०६९ जेठमा पुनर्गठित मन्त्रीपरिषदमा पनि शर्मा नै शिक्षामन्त्री रहे।
(४९) माधवप्रसाद पौडेल – पहिलो संविधान सभा असफल भएपछि २०६९ माघमा डा. खिलराज रेग्मीको नेतृत्वमा नयाँ सरकार बन्यो। यो चुनावी सरकार थियो। गैरराजनीतिक व्यक्तिहरु सम्मिलित उक्त सरकारमा पौडेलले शिक्षा, सामान्य प्रशासन र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
(५०) चित्रालेखा यादव – वि.सं. २०७० माघ २९ गते कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा यादव शिक्षामन्त्री भइन्। २०७० फागुन १३ गते मन्त्रीपरिषद पुनर्गठन भयो। उक्त मन्त्रीपरिषदमा पनि यादव शिक्षामन्त्रीको जिम्मेवारीमा निरन्तरता पाइन्।
(५१) गिरिराजमणि पोख्रेल – वि.सं. २०७२ सालमा संविधान जारी भएपछि २०७२ असोज ५ गते केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो। यो प्रगतिशील संविधान जारी भएपछिको पहिलो सरकार थियो। उक्त सरकारमा नेता गिरिराजमणि पोखरेलले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। असोज २५ मा पुनर्गठित मन्त्रीपरिषदमा पनि पोखरेल शिक्षामन्त्री नै रहे।
(५२) धनीराम पौडेल – वि.सं. २०७३ साउन २० गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भए। उनको सरकारमा धनीराम पौडेल (डि.आर) ले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
(५३) गोपालमान श्रेष्ठ – वि.सं. २०७४ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भयो। उक्त सरकारमा कांग्रेस नेता श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए। देउवा सरकारमा श्रेष्ठ उपप्रधान तथा शिक्षामन्त्री भए। उक्त सरकारमा शेषनाथ अधिकारी शिक्षा राज्यमन्त्री थिए।
(५४) गिरिराजमणि पोखरेल – वि.सं. २०७४ फागुनमा वाम गठबन्धनको नेतृत्व गर्दै केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भए। उक्त सरकारमा नेता पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाले। उक्त सरकारले हालसम्म निरन्तरता पाइरहेको छ। यसरी पोखरेल दोस्रोपटक शिक्षामन्त्री भए।



लाेकपाटी न्यूज

