ललिता निवास प्रकरणः बाबुराम भन्छन्, ‘निलकण्ठ बन्न तयार छु’

Baburam_Bhattarai
लोकपाटी न्यूज

काठमाडौँ। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि अख्तियारको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अख्तियारको प्रशंसा गरेका हुन्।

यद्यपि उनले यसमा ‘कतिपय त्रुटि र अपूर्णता’ देखिएको समेत उल्लेख गरेका छन्। ‘देशमा व्याप्त भ्रष्टाचार रूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।’

उनले ऐन कानुन र राज्य संयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकोले यस्तो हुन गएको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री निर्दोष र मन्त्री दोषी देखिएको उक्त प्रकरणबारे पनि पूर्वप्रम भट्टराईले आफूले पनि यसमा असहजता महसुस गरेको बताएका छन्।

‘सुर–असुर द्वन्द्वबाट निस्केको कालकूट विष पिएर शिवजी निलकण्ठ बनेझैँ देशलाई आवश्यक पर्छ भने म पनि निलकण्ठ बन्न तयार छु !’, उनले भनेका छन्, ‘तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् ! वा जानी जानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चाहिँ फस्ने नहोस् !’

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्व प्रधानमन्त्री डा. भट्टराई र माधव कुमार नेपाललाई पनि दोषी देखाइएको छ तर उनीहरू विरुद्ध मुद्दा दायर गरेको छैन। तर सोही प्रकरणमा मन्त्री रहेका विजयकुमार गच्छदारसहित तीन मन्त्रीविरुद्ध भने मुद्दा दायर भएको छ।

डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,

‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐन कानून र राज्य संयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ। मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ..२

मैले पनि असहजता महसुस गरेको छु! सुर-असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैँ देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैँ फस्ने नहोस्!’