चीनबाट नेपाली विद्यार्थीको उद्धारमा किन ढिला हुदैछ ?

Korona_Virus
लोकपाटी न्यूज

काठमाडौं । सरकारले चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्ने भनिएको विद्यार्थी ल्याउन ढिलाई गरेको छ। सरकारले चीनबाट फर्कन चाहनेलाई चीनस्थित नेपाली दूतावासमा फारम भर्न लगाइएको थियो । त्यसमध्ये १ सय ८० जनाले नेपाल फर्कन चाहेको फारम भरेका विद्यार्थीलाई सरकारले अझै पनि फिर्ता ल्याउन नसकेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली विद्यार्थी ल्याउने सम्बन्धमा तयारी भइरहेको मंगलबारको संसद बैठकमा जानकारी दिएका थिए । स्वास्थ्य मन्त्रालय विद्यार्थी फर्काउन जोडतोडले लागिरहेका समयमा कुन जहाज चीन जाँदैछ भन्नेबारेमा भने पर्यटन मन्त्रालय र स्वयम् वायुसेवा कम्पनीमा भने अन्यौल छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्समा समेत कहिलेका लागि कति सिट क्षमताको जहाज आवश्यक पर्यो भनेर मंगलबार साँझसम्म पनि औपचारिक माग भएको छैन ।नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार सरकारको कुनै पनि निकायले मंगलबार साँझसम्म नेपाल एयरलाइन्समा जहाज आवश्यक रहेको सम्बन्धमा जानकारी गराएका छैन।

यता हिमालय एयरलाइन्सलाई समेत सरकारले जहाज चाहियो भनेर औपचारिक रुपमा पत्र पठाएको छैन । हिमालय एयरलाइन्सकी ब्रान्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्वला दलीले भनिन्, ‘अहिलेसम्म जहाज आवश्यक भयो भनेर हामीलाई कुनै माग भएको छैन।’

स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयले चीनबाट नेपाल फिर्ता हुने यात्रु र फिर्ता ल्याउने मितिबारे निर्णय गर्न नसक्दा चीन जाने जहाजको टुंगो नलागेको पर्यटन मन्त्रालयको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयबाट माग भएपछि पर्यटन मन्त्रालयले जहाजको व्यवस्थापन गर्नेछ ।

‘हामीले जहाज उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म मिति र संख्या तय नभएका कारण वायुसेवा कम्पनीसँग नमागिएको हो ।’प्रधानमन्त्री कार्यालय, परराष्ट्र र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवालाको बैठकमा पर्यटन मन्त्रालयको तर्फबाट आवश्यक परेको बेला नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गर्न सकिने जानकारी गराइएको थियो ।अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने गरी नेपालसँग कूल सात वटा जहाज छन् । त्यसमध्ये ४ वटा नेपाल एयरलाइन्स र तीनवटा हिमालय एयरलाइन्ससँग छन् । नेपाल एयरलाइन्ससँग दुई वटा २७४ सिट क्षमताका दुई वाइडबडी र १५८ सिट क्षमताका दुई न्यारोबडी जहाज रहेका छन् । हिमालय एयरलाइन्ससँग भएका सबै जहाज न्यारोबडी हुन् ।

सरकारले चाहेको बेला जुनसुकै समयमा जहाज उपलब्ध हुने अपेक्षा सरकारको छ । पर्यटन मन्त्रालयले सरोकारवालासँग यही जवाफ दिइरहेको छ । तर, दुई वायुसेवा कम्पनीसँग भएका जहाज नियमित गन्तब्यमा उडिरहेका हुन्छन् ।त्यसका लागि यात्रुले अग्रिम टिकट काटेका हुन्छन् । एक दिनका लागि मात्र एउटा जहाज उपलब्ध नहुने अवस्थामा पूर्वनिर्धारित रुटका उडान कटौती गर्नुपर्ने हुन्छ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख ज्वार्चनका अनुसार नियमित उडानलाई नै प्रभावित नहुने गरी उडान सेड्यूल मिलाउन समेत कम्तिमा दुई दिनको समय लाग्छ । कुनै गन्तब्यमा छिटो उडान र कुनैमा डिले गरेर भएपनि चार्टर्डका लागि जहाज उपलब्ध गराउन सकिन्छ ।पर्यटन सचिव अधिकारीका अनुसार चीनबाट फर्कने यात्रु धेरै हुने अवस्थामा नेपाल एयरलाइन्सको वाइडबडी जानेछ। नभए हिमालय र नेपाल एयरलाइन्समध्ये जुन जहाज लैजाँदा सेड्यूल फ्लाइट प्रभावित हुँदैन, सोही जहाज चीन जानेछ।

अहिले त्रिभुवन विमानस्थलमा थर्मल स्क्यानर जडान भएको छ। यस स्क्यानरले ९८ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएको यात्रु नेपाल प्रवेश गरेको पाउनासाथ उसलाई अन्य यात्रुबाट छुट्याएर एम्बुलेन्समा राखी स्वास्थ्य जाँचका लागि लैजाने व्यवस्था गरिएको छ ।अहिले चीन आफैले कोराना संक्रमणको आंशका लागेका कुनै पनि यात्रुलाई जहाजबाट यात्रा गर्न नदिएका कारण धेरै हदसम्म संक्रमित यात्रु आउने सम्भावना भने कम छ। चीनबाट नेपाल ल्याउन लागिएका नेपालीको हकमा भने विमानस्थलले विशेष व्यवस्थापनको तयारी गरेको छ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार यो जहाजलाई आपतकालीन अवस्थामा हुने जस्तै व्यवस्थापन गरिनेछ। सकेसम्म जहाजलाई केही महिना अगाडि संचालनमा आएको रिमोट पार्किङ क्षेत्रमा लैजाने योजना छ। पाइलटसहित चालक दलका सदस्यले लगाउने सुरक्षा मास्क, एप्रोन तथा अन्य व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ । यात्रुको अध्यागमन र भन्सारमा हुने काम पार्किङ वेमै हुने व्यवस्था मिलाइनेछ।

त्यहाँबाट उनीहरुलाई स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको स्थानमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिनेछ । त्यसो त चीनमा समेत उनीहरुको स्वास्थ्य परीक्षण भई भाइरसको संक्रमण भएको भए चीनमै अस्पताल भर्ना गरिनेछ । नेपालमा विमानस्थलबाट बाहिरी निस्किएपछि अन्य यात्रुसँग भेटघाट नहुने गरी व्यवस्थापन मिलाइने महाप्रबन्धक केसीले जानकारी दिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्