काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको शनिबारको बैठक सुरु भएको छ। राष्ट्रिय सभागृहमा ११ बजेबाट बैठक सुरु भएको हो।
बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूले राखेको धराणा र सुझाव बुझ्ने कार्यक्रम रहेको छ। १६ माघबाट विभिन्न १५ समूह बनाएर केन्द्रीय सदस्यहरूले समूह नेतासमक्ष छलफल गरेका थिए।
यसअघि शुक्रबार बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका थिए।
बैठकले समूहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गर्ने छ। नेकपाको प्रस्तावित महाधिवेशनको मितिका बारेमा आवश्यक निर्णय बैठकले गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ।
शुक्रबार बाँकी रहेका छलफलका बाँकी कुराहरू आजको बैठकमा राखिने पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। अध्यक्ष ओली बैठकमा उपस्थित नभए पनि अर्का अध्यक्ष प्रचण्डले सदस्यहरूको सुझाव, धारणा र प्रतिक्रियाहरू बुझ्ने छन्।
बैठकमा अमेरिकी सहयोग एमसीसी, नेपाल–भारत सीमा विवाद, जनप्रतिनिधि तथा शीर्ष नेताको सम्पत्ति छानविन, पार्टीमा महिला सहभागिता, सरकारको कामकारबाही जनमूखी नभएको लगायत विषय बैठकका एजेन्डाका रूपमा रहेका छन्। सदस्यहरूले उठाएका यी विषयमाथि पार्टीका दुवै अध्यक्ष र शीर्ष नेताहरुले निष्कर्ष निकाल्ने छन्। १५ माघबाट सुरू भएको बैठक भोलि (आइतबार) सम्म जारी रहने छ।



लोकपाटी न्यूज

