गायिका आस्था राउत धरौटीमा छुटिन्

astha_raut
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ। गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।  काठमाडौंका प्रमूख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्।

काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको बताए।राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो।प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो।

तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो। राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो। ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो। मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो।

के भएकाे थियो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था सोमबार आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था सोमबार ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको थियो । यद्यपि राउत परिवारले  उजुरीकर्ता महिला प्रहरीसँगको सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास गरेको भएपनि प्रहरी जवान श्रेष्ठले मुद्दा फिर्ता लिन अस्वीकार गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्