सामन्तवाद पूर्णत अन्त्य भइसकेकाे छैन : प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताएका छन्। आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा सभा तथा शपथ ग्रहण समारोहको राजधानीमा उद्घाटन गर्दै प्रचण्डले भने, ‘हामी अझै एकतावद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ।’

जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम हुन जाने प्रचण्डको भनाइ थियो। उनले भने, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ।’

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिको बीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताए। जातिय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको विषय भएको बताउदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको अध्यक्षले स्पष्ट पारे।