नेविसंघका नेताहरुबीच झडप

Nebisangh
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं। प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच सोमबार दिउसो कुटपिट भएको छ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज काफ्लेमाथि हातपात गरेको हो। नेविसंघमा एक वर्षदेखि विवाद छ।

नेविसंघमा अहिले नै ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद छ। नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ। विधान लागू गर्न माग गर्दै एक महिनादेखि रिले अनसन पनि जारी छ।

असन्तुष्ट विद्यार्थी नेताहरुले संघका पूर्व महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला संस्थापन पक्षले आक्रमण गरेको हो। कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेविसंघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति बनाउने पक्षमा सहमत छन्। सभापति देउवाले पूर्वउपसभापति राजीव ढुंगानाको नाम नेविसंघ सभापतिमा प्रस्ताव गरेका छन्।

उक्त प्रस्ताव विधानविपरीत भन्दै नेविसंघमा काफ्ले समूहले विरोध गरिरहेको छ। पार्टी नेतृत्वले विधान विपरित ५० वर्षीय राजीव ढुङ्गानालाई संघको नेतृत्व दिन लागेको विरोधमा विद्यार्थीहरु असन्तुष्ट छन्।