काठमाडौँ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आज सोमबार ११ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।
आइतबार सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। उनी निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयले राष्ट्रपतिको कार्यालयलाई आइतबार दउँसो साढे ४ बजे जानकारी गराएको थियो। संसद सचिवालयको पत्र प्राप्त गरेपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको कार्यक्रम सोमबार ११ बजेका लागि तय गरेको छ। सापकोटाले सभामुख पदको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सभामुखले प्रमाणीकरण गर्न बाँकी रहँदा राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएर आएका पाँच विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन बाँकी छ ।
संसदको चौथो अधिवेशनमा नै पारित भएका विधेयक तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोपमा राजीनामा दिएपछि प्रमाणीकरण हुन सकेका थिएनन् ।
सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, भूमि सम्बन्धी आठौँ संशोधन विधेयक र औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण हुन सकेका छैनन् ।



लाेकपाटी न्यूज

