सभामूखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

agni-sapkota
लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ। प्रतिनिधि सभाको सभामूखमा अग्नि सापकोटा निर्विरोध निर्वा्चित भएका छन्। आइतवार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकबाट सापकोटा निर्विरोध  निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध  निर्वाचित भएको घोषणा गरेका हुन्।

को हुन् सापकोटा

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो। धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन्।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए। ०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्।

०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए। ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए।

प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए। ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए। सापकोटा २ पटक मन्त्री भइसकेका छन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्