विज्ञान र वेदको सम्बन्ध : विज्ञानका विद्यार्थीले किन पढ्नुपर्छ वेद ?

Bed
सामवेद ६।५।१४ – सप्त त्वा हरिते रथो बहन्ती देव सूर्य। शोचिष्केशम् बिचक्षण ।। अर्थात्, ‘हे प्रकाशक सूर्यदेव ! शुद्ध गर्ने सात रङको सात किरणले तपाईको रथलाई लिएर जान्छ।” प्रस्ट रूपमा के भनेको छ भने सूर्यमा विशेष गरी सात प्रकारका रङ हुन्छन्। सूर्यबाट आएको प्रकाशलाई प्रीज्मबाट पठाउने हो भने सात रङ्गमा परिणत हुन्छ।
लाेकपाटी न्यूज

भरत भण्डारी

कुनै कुरा अध्ययन गरिसकेपछि कि बुझिन्छ कि बुझिन्न। यो ध्रुब सत्य कुरा हो। पढेपछि बुझ्नैपर्छ भन्ने छैन। तर बुझ्दा राम्रो। यहाँ प्रसङ्ग वेद र विज्ञानको हो। दुवै उस्तै हुन्, पढ्न सकिन्छ। तर बुझ्न अलि मेहेनत नै गर्नुपर्छ। एक जना बुज्रुकले मलाई सोध्नुभयो “कहाँ छ त वेद र विज्ञानको सम्बन्धहरु के वेदमा विज्ञान भेटिन्छ र ?” “छैन, वेदमा विज्ञान छँदै छैन”, मैले भनेँ। “अनि किन वेदबाट विज्ञान बनेको भनेर गफ हान्छन् त मानिसहरु ?”

“खै किन भने ?” “अनि वेद हो चाहिँ के ? त्यहाँ के छ त्यस्तो ?” बडो फरक तरिकाले सोधे उनले। “अस्ति एउटा बच्चा जन्मिदा डाक्टर भएर जन्मिएछ, जन्मिदै सेतो कोट लगाएर गलामा स्टेथोस्कोप भिरेको रहेछ बच्चाले” मैले पनि भनिदिएँ। “हँ ! के हावा गफ दिएको फेरि ? खुस्कियो कि के हो माड्साब ?” दङ्ग पर्दै सोधे उनले। “किन र बच्चा जन्मदा डाक्टर हुन सक्दैन र ?” “जन्मदै कोही डाक्टर हुन्छ ? डाक्टर हुनलाई त पढ्नु पर्यो नि !!”

“सही कुरा मित्र ! सोह्रै आना सही !! नपढी कोही केही बन्न सक्तैन, तर कोही नपढिकन पनि बन्न सक्छन्, कामले अनुभवले, देखेर, सिकेर”।

“वेद पनि पहिला अध्ययन गर्नुस्, अनि खोजी गर्नुस्, बुझ्ने कोसिस गर्नुस्, वेदले विज्ञान जन्माएको होइन, वेद र विज्ञान दुवै थिए, तिनका अस्तित्व यो ब्रम्हाण्डमा थिए, छन् र हुनेछन्। तर भन्न खोजेको कुरा यो हो कि वेदभित्र विज्ञान छ किनकि वेद सनातन छ, त्यसलाई खोजी गरौँ र प्रमाणित गर्न खोजौँ, विज्ञान प्राप्त हुनेछ।’’

मित्रको बहुमूल्य प्रश्न पश्चात् मैले चारै वेदका प्रमुख विज्ञानसम्मत विचारहरूलाई नेपालीमा प्रस्तुत गरेको छु। सबै प्रस्तुत गर्न त एकै चोटि सम्भव छैन। केही सामन्य सबैले बुझ्नसक्ने कुराहरू यहाँ प्रस्तुत गरेको छु।

अथर्ववेद १२।१।२६ – “शिला भुमिरश्मा पासु सा भुमिस्सम्धृता घृता। तस्यै हिरण्यबक्षसे पृथिव्या अन्कर नमस्।।” “धर्तीको सतहमा धुलो, ढुङ्गाका टुक्राहरु र पत्थरहरु छन् र उसको गर्भमा स्वर्ण, रत्न र बहुमूल्य खनिज पदार्थ छ, त्यस्तो धर्तीमातालाई हामी प्रणाम गर्दछौं।’’ पृथ्वीको गर्भमा बहूमुल्य धातु रहेको कुरा देखाउँछ। सिधा अर्थमा पढ्दा यस श्लोकमा खासै केही विज्ञानका कुरा देखिँदैन।

ऋग्वेद ४।५८।११ – “धामन्ते बिश्वोम भुवनमधी शृत्मन्त्स्समुद्रेहध्न्त ! रयुषी। अपामनिके समिथे य आभृतस्तमश्याम मधुमन्त त उर्मिम।। अर्थात्, ‘‘हे परमात्मा, तपाईको तेज समुद्रको बीचमा बडवाग्नीका रूपमा, आकाशमा सूर्यदेवका रूपमा, हृदय बीचमा वैश्वानरका रूपमा, अन्नमा प्राणको रूपमा, जलमा विद्युत (बिजुली) का रूपमा, तथा युद्धमा शौर्याग्नीका रूपमा विद्यमान छ। समस्त लोक तपाईमा आश्रित छ। तपाईको त्यो मिठास रसको उपयोग गर्न हामी समर्थ हौँ।” माथिको श्लोकमा पानीलाई बिजुलीको शक्तिको रूपमा रूपान्तरण गर्न सकिने कुरा उल्लेख छ।

अथर्बवेद ४।१५।६ – “त्वोया शृस्टम बहुल्मैतु बर्षमाशारैषी कृशगुरेत्वोस्तम्।’’ अर्थात्, ‘‘हे पर्जन्यदेव ! गड्गडाहट गर्जनाबाट युक्त भएर औषधिरुप वनस्पतिमा गर्भ स्थापित गर्नुहोस्।”

सामवेद ६।५।१४ – सप्त त्वा हरिते रथो बहन्ती देव सूर्य। शोचिष्केशम् बिचक्षण ।। अर्थात्, ‘हे प्रकाशक सूर्यदेव ! शुद्ध गर्ने सात रङको सात किरणले तपाईको रथलाई लिएर जान्छ।” प्रस्ट रूपमा के भनेको छ भने सूर्यमा विशेष गरी सात प्रकारका रङ हुन्छन्। सूर्यबाट आएको प्रकाशलाई प्रीज्मबाट पठाउने हो भने सात रङ्गमा परिणत हुन्छ।

सामवेद २।१।३ – गाव उप बदावटे मही यज्ञस्य रप्सुदा। उभा कर्णा हिरण्यया।। अर्थात्, ‘‘सूर्यको किरण यज्ञार्थ स्थित, त्यसले पृथ्वीलाई यज्ञीय रूप प्रदान गर्नेछ, जसको दुई छेउ चम्किलो छ। यहँ दुई छेउ भन्नाले दुई ध्रुव (उत्तरी र दक्षिणी ध्रुव) बुझिन्छ भने चम्किलो भन्नाले चुम्बकीय तरङ्ग भन्ने बुझिन्छ। यसरी दुई चुम्बकीय ध्रुवबीच चुम्बकीय तरङ्ग बहन्छ भन्ने कुरा स्पष्ट छ।

जल चक्र (वाटर साइकल) का कुरा वेदमा जताततै भेटिन्छ। ऋग्वेद १ ।१६४।५१ – “जल तातेर माथि उठ्छ र वर्षाको रूपमा तल आउँछ।” ऋग्वेद १।१६४।४२ – ‘‘सूर्यका किरणले जलधारा बग्छन्।” ऋग्वेद १।२२।६ – ‘‘हे ऋत्विक ! हाम्रा रक्षाका लागि तिमी सवितादेवलाई (सूर्य) स्तुति गर। हामी सवितादेवका लागि सोमयोगादि कर्म सम्पन्न गर्न चाहन्छौं। ती सवितादेवले जल सुकायर फेरि बर्साउछन्।”

यी त भए सामान्य कुरा। वेदमा त्यस्ता धेरै विज्ञान छन्। यो यस्तो उस्तो भन्नुभन्दा पनि अध्ययन गरेर प्रयोग वा सिद्ध गर्नतिर लाग्ने हो भने वेद अथाह विज्ञानको भण्डार हो। यसरी वेद एउटा पुरानो ग्रन्थ हो। यो कुनै धर्मको ग्रन्थ भन्नुभन्दा पनि यसलाई राम्रोसँग बुझेर अध्ययन गर्ने हो भने हामीले यो आधुनिक युगमा अझै धेरै असम्भव कामलाई पनि सम्भव भनाउन सक्छौँ र अझै धेरै विज्ञानका आविष्कार गर्न सक्छौँ।