इटहरी, ९ माघ। सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर कानूनी कार्वाही गर्न उच्च अदालतले आदेश दिएको छ। आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको मुद्धा खेपीरहेका सिद्धबाबालाई बिहीबार उच्च अदालतको १ नम्बर बेञ्चमा भएको बहसमा सो सुनुवाई भएको हो।
मुद्दा उच्च अदालत विराटनगरमा मुख्यन्यायधिश तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले सो सुनुवाई गरेको हो। नेपाल सरकारका तर्फबाट गोकुल निरौंला, उपन्याधिवक्ता पदम वस्ती, भगवती सुवेदी, सहन्याधिवक्ता राकुमार थापाले बहस गरेका थिए।
जाहेरवालको तर्फबाट नीजि वकिल डिल्ली दाहाल र कोषराज न्यौपानेले बहस गरेका थिए। मुलुकी फैजदारी कार्य्विधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ। गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानून व्यवसायीले हटाएपछि स्थगित भएको थियो।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।
जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो। यसैबीच कृष्णदास भने बिहीबार भारत तर्फ फरार भएका छन्। उनलाई पक्राउ गरि ल्याउने बिषयमा पनि कानूनीबाटो खोजिने पीडित पक्षका तर्फबाट बहसमा संलग्न वकिलहरुले बताएका छन्।



लाेकपाटी न्यूज

