काठमाडौं, ७ माघ। नेपाली कांग्रेस निकटको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आउँदो चैतमा हुने भएको छ। युनियनको मंगलबार चितवनमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले बताए।
अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा केन्द्रीय महाधिवेशन परिचालन समिति गठन गरिएको उनले जानकारी दिए। त्यस्तै, उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय तयारी समिति बनाउने निर्णयसमेत गरिएको छ।
महाधिवेशनका लागि बाँकी रहेका १५ शाखाको अधिवेशन र उद्घाटन भएर स्थगित भएका चारओटा शाखाको अधिवेशन यही माघ मसान्तभित्र गरिसक्नेसमेत निर्णय गरिएको छ। सो अवधिभित्र महाधिवेशन नगर्ने र शुल्क नबुझाउनेलाई महाधिवेशनमा सहभागिता जनाउन नदिने निर्णय गरिएको जनाइएको छ।
हरेक तीन वर्षमा हुनुपर्ने युनियनको महाधिवेशन यसपटक भने करिव ६ वर्षपछि हुन् लागेको हो। २०७१ साल भदौमा पोखरामा सम्पन्न आठौं महाधिवेशनले बद्री सिग्देलको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति निर्वा्चित गरेको थियो।



लाेकपाटी न्यूज
