काठमाडौं/लोकपाटी टिप्पणी। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामूख पदमा नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेपछि उनको पक्ष र विपक्षमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यो टिप्पणी तयार पार्दासम्म सापकोटाले सभामूखमा आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।
सापकोटाले मंगलबार सभामूख पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनका विरुद्ध कुनै पनि दल र सांसदले उम्मेदवारी नदिएका कारण माघ १२ गते उनी सभामूखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ। त्यसपछि अवरुद्ध संसदका गतिविधिहरु सुचारु हुने नै छन्।
नेता सापकोटा विगत चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय छन्। शैक्षिक, सामाजिक जीवन होस् वा राजनीतिक जीवन, उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्दै आएका छन्। आवश्यक विषयमा मात्र बोल्ने तर निष्कर्षसहित बोल्ने सापकोटा हरेक विषयमा आफ्नो ठोस धारणासहित प्रस्तुत हुन्छन्। विद्यालय जीवनमा अब्बल शिक्षक र प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका सापकोटाले कम्युनिस्ट आन्दोलनको चार दशक पनि त्यस्तै अब्बलता प्रस्तुत गरे।
जनयुद्धको क्रममा सापकोटाले उपत्यका क्षेत्रको राजनीतिक कमाण्ड गरे, जुन क्षेत्र सुरक्षाका दृष्टिले मात्र नभएर राजनीतिक प्रतिद्धन्दताका दृष्टिले पनि चुनौतिपूर्ण मानिन्थ्यो। तर, सधैं चुनौतिपूर्व जिम्मेवारी लिन रुचाउने सापकोटाले पार्टीको साख मात्र जोगाएनन्, वार्ता टोलीको सदस्य भएर परिवर्तनका मुद्दाहरुको राजनीतिक उचाइ बढाउने काममा पनि उनले आफ्नो अब्बलता प्रस्तुत गरे। पार्टी विभाजनपछि भएको चुनौतिपूर्ण आम निर्वाचन (२०७०) मा उनको विजय जनतासँग सजीव सम्बन्धकै प्रतिफल थियो।
परिवर्तनकारी आन्दोलनका सारथि र समर्थकका लागि अग्नि सापकोटा एक निष्ठावान् नेता हुन्, उनी मुक्ति आन्दोलनका अविराम योद्धा हुन्, अनि साम्यवादी लक्ष्यमा अविराम यात्री। तर, सशस्त्र जनयुद्धका कमाण्डर भएकै कारण विरोधीहरुले उनीमाथि व्यक्तिहत्याको मिथ्या आरोप लगाउँदै आएका छन्। जुन कुरा कुनै तथ्यले पुष्टि गर्दैनन्।
उनीमाथि छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताले नियन्त्रणमा लिई हत्या गरेको र उक्त घटनापछि उक्त क्षेत्रमा अग्नि सापकोटा देखिएको अभियोग लगाइएको छ। अभियोगमा नियन्त्रणमा लिइएको २ महिनापछि आयोजित सार्वजनिक कार्यक्रममा सापकोटासँगै लामा पनि देखिएको दावी गरिएको छ। यति प्रमाणका आधारमा सापकोटामाथि व्यक्तिहत्याको आरोप लगाउँदै सभामूखको पदीय जिम्मेवारीमा प्रश्न उठाउन खोजिएको छ, जुन हदैसम्मको पूर्वाग्रहबाट प्रेरित देखिन्छ।
पहिलो कुरा, जनयुद्ध कुनै आपराधिक गतिविधि थिएन, यो देश र जनताको मुक्ति एवं परिवर्तनका लागि चालिएको मुक्तियुद्ध थियो। त्यो मुक्ति युद्धका एक योद्धा थिए अग्नि सापकोटा। उनीजस्ता हजारौं योद्धाले आफ्नो ज्यान हत्केलामा राखेर ल्याएको परिवर्तन हो गणतन्त्र। जनयुद्धबिना गणतन्त्रको घोषणा कल्पनाबाहिरको कुरा थियो। त्यही गणतन्त्रले नागरिकलाई मात्र होइन, संसदवादी दलका नेता–कार्यकर्तालाई पनि रैतीबाट नागरिकमा रुपान्तरित गर्यो। अनि, जसले परिवर्तनका लागि सम्पूर्ण जीवन समर्पित गर्यो, त्यो योद्धा गणतान्त्रिक शासनमै कसरी युद्ध अपराधी हुन्छ ?
दोस्रो कुरा, नेपालका सन्दर्भमा मात्र नभएर मानव जातिकै इतिहासमा सभ्यता र राजनीतिक परिवर्तन ठूलठूला सङ्घर्षकै बलमा हुँदै आएका छन्। अमेरिकी स्वतन्त्रता संग्रामदेखि हामीले प्राप्त गरेको गणतन्त्र पनि त्यसको अपवाद छैन र हुन पनि सक्दैन। नेपालकै राजनीतिक नेताहरु बिपी कोइराला, गिरिजादेखि केपी ओली, देउवासम्मको इतिहास सशस्त्र सङ्घर्षकै इतिहास हो। सशस्त्र क्रान्तिको नेतृत्व गरेकै कारण युद्ध अपराधी हुने भए यी सबै नेताहरु त्यसबाट मुक्त हुन सक्दैनन्।
तेस्रो कुरा, सापकोटाले लामाको हत्या गरेको कुनै आधिकारिक प्रमाण छैन। एउटा कार्यक्रममा सापकोटासँगै लामा देखा परेको दावी गरिएको छ, जुन कुरा आफैमा अप्रमाणित छ। एउटा सार्वजनिक कार्यक्रममा दुवै जना सँगै देखिनुलाई आधार मानेर हत्याको अभियोग लगाउने हो भने नेपालका प्रत्येक नागरिकलाई अपराधीको अभियोग लगाउन सकिन्छ, यो निकै नियोजित छ। जहाँसम्म सापकोटामाथि नै यसर्थ किटानी जाहेर गरियो कि उनी त्यस क्षेत्रका सबैभन्दा शीर्ष नेता हुन्। टाउकोमा प्रहार गर्ने र परिवर्तनका पक्षधरहरुलाई छिन्नभिन्न पार्ने प्रायोजित योजनाकै आधारमा सापकोटा त्यसको शिकार भइरहेका छन्।
चौंथो कुरा, नेपालमा मानव अधिकारको कुरा गरेर डलर कुम्ल्याउने ठूलै गिरोह छ। उनीका लागि सशस्त्र युद्ध निकै ठूलो ब्यापार हो, जतिबेला देशभित्र द्धन्दको स्थिति पैदा हुन्छ, त्यतिबेला मात्र शान्तिका नाममा ठूलो मात्रामा विदेश डलर भित्राएर त्यसको ठूलो हिस्सा आफ्नो पोल्टामा पार्न सकिन्छ। त्यसकारण उनीहरु मूखले त शान्तिको कुरा गर्छन्। तर, भित्रभित्रै युद्धको कामना गरिरहेका हुन्छन्। देशभित्र काम गरेर काम जाँगर मरेका यिनीहरु द्धन्दमा नै आफ्नो भविष्य देख्छन्। त्यसकारण नागरिक आपसमा मिले पनि यिनीहरुले एउटा पक्षलाई उचालेर द्धन्दको खेती गरिरहन्छन्। सापकोटाका सन्दर्भमा पनि यही घातक प्रवृत्तिले काम गरिरहेको छ।
पाँचौं कुरा, वि.सं. २०५२ देखि २०६३ अर्थात् सशस्त्र द्धन्दको प्रारम्भदेखि विस्तृत शान्ति सम्झौतासम्मका घटनाहरुको अध्ययन, निरुपण र न्यायका लागि २ वटा शक्तिशाली आयोग बनेका छन्, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग। ती दुवै आयोगले आफ्नो कार्यदेशअनुसारको काम गरिरहेका छन्। तर, आयोगको क्षेत्राधिकारभित्र रहेको विषयलाई उचालेर द्धन्द भड्काउने जुन प्रपञ्च भइरहेको छ, त्यो खेदजनक छ। सत्य निरुपणका क्रममा सापकोटा दोषी देखिए त्यसलाई स्वीकार्न सकिन्छ। किनकि त्यो मात्र हाम्रो संक्रमणकालीन न्याय सम्बन्धि संवैधानिक व्यवस्था हो।
हरेक राजनीतिक परिवर्तनका पछाडि राजनीतिक सङ्घर्ष नै मूख्य कारण हुने गर्दछ। नेपालको आजको परिवर्तन पनि जनयुद्ध, जनआन्दोलन र विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायका न्यायपूर्ण आन्दोलनकै परिणाम हुन्। जसले यत्रो परिवर्तनको नेतृत्व गर्यो, राष्ट्र र जनताको मुक्तिका लागि आफ्नो स्वार्थ छोडेर मुक्ति वा मृत्युको सपथ खायो, त्यही व्यक्ति गणतन्त्रको अपराधी हुनै सक्दैन।



लाेकपाटी न्यूज

