काठमाडौं, ६ माघ । मार्क्सवादी लेखक गोपीरमण उपाध्याय र पत्रकार मनहरि तिमिल्सिनाद्वारा सम्पादित जनताको जनवादका आधारहरु नामक पुस्तक बजारमा आएको छ। इण्डिको इङ्क प्रकाशनले प्रकाशन गरेको पुस्तकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशा जनताको जनवादका मुख्य आधारहरु प्रस्तुत गरिएको छ।
पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपील र पुष्पलालको लेख ‘मूलबाटो’का मुल अंशहरु समावेश छन्। यसलाई नेकपाको एकीकृत अवस्थाको खण्डका रुपमा पुस्तकमा राखिएको छ।
पुस्तकको दोस्रो खण्डमा तात्कालिन नेकपा (एमाले) का ऐतिहासिक दस्तावेजका मुल अंशहरु समावेश गरिएका छन्। दोस्रो खण्डमा मूख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित जनताको बहुदलीय जनवाद सम्बन्धि दस्तावेजका मूल अंशहरु समावेश छन्। पुस्तकमा २०४९ सालमा पारित जनवादको बहुदलीय जनवादलाई प्रारम्भमा पार्टीको राजनीतिक कार्यक्रमका रुपमा स्वीकार गरिएको र तात्कालीन एमालेको छैटौं महाधिवेशनले त्यसलाई राजनीतिक कार्यदिशाका रुपमा ग्रहण गरेको कुरालाई मूख्य रुपमा प्रस्तुत गरेको छ।
यसका साथै पुस्तकको दोस्रो खण्डमा जनताको बहुदलीय जनवादबारे तात्कालीन नेकपा (एमाले) ले सातौं, आठौं र नवौं महाधिवेशनमा गरेको संश्लेषण र समीक्षालाई पनि प्रस्तुत गरिएको छ। पुस्तकको उक्त खण्डले तात्कालीन नेकपा (एमाले) को विचारधारात्मक विकासको श्रृङ्खला बुझ्न सजिलो हुनेछ।
पुस्तकको तेस्रो खण्डमा तात्कालीन माओवादीका ऐतिहासिक दस्तावेजका मूल अंशहरु समावेश गरिएको छ। पुस्तकमा माओवादबारे, नेपाली क्रान्तिका मित्र शक्ति, शत्रु र निशानाबारे माओवादीको निर्णय, माओवादीद्वारा प्रस्तुत ४० सुत्रीय मागपत्र, दोस्रो राष्ट्रिय सम्मेलनको प्रचण्डपथ सम्बन्धी निर्णय, एक्काइसौं शताब्दीमा जनवादको विकास सम्बन्धी दस्तावेज लगायतका सामग्रीहरु समावेश गरिएको छ।
त्यसैगरी चुनवाङ बैठकको संघीय लोकतान्त्रिक गणतन्त्रको निर्णय, बिस्तृत शान्ति सम्झौता, कामीडाँडा बैठकको पाँच कार्यनीति सम्बन्धी निर्णय, खरिपाटी भेलाको नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने निर्णय, सातौं महाधिवेशनको समाजवादी क्रान्तिको रणनीतिमा जाने निर्णय तेस्रो खण्डमै राखिएको छ। पुस्तकको तेस्रो खण्डले तात्कालीन माओवादीको विचारधारात्मक विचार र जनताको जनवादसम्म आइपुग्ने सैद्धान्तिक आधारहरु प्रस्तुत गर्दछ।
पुस्तकको चौंथो खण्डमा एमाले र माओवादीबीच चुनावी गठबन्धनदेखि पार्टी एकता र त्यसपछि भएका मुलभूत निर्णयहरु समावेश गरिएको छ। यसै खण्डमा नेकपाको राजनीतिक प्रतिवेदनको सारसंक्षेप पनि समावेश गरिएको छ, त्यसले नेकपाले पछिल्लो समय लिएका वैचारिक, राजनीतिक एवं संगठनात्मक निर्णयहरुलाई बुझ्न मद्दत मिल्नेछ।
पुस्तकमा नेकपाको ७० वर्षको इतिहासलाई वर्ष घटनाका रुपमा बुंदागत रुपमा प्रस्तुत गरिएको छ, यसले नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रमलाई बुझ्न पाठकहरुलाई मद्दत मिल्ने सम्पादकद्वयको विश्वास छ। साथै पुस्तकमा नेकपाको कार्यदिशाको व्याख्यासहित अध्यक्ष प्रचण्डको मन्तव्य पनि समावेश गरिएको छ।
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाले संयुक्त रुपमा सम्पादन गरेको पुस्तक इण्डिको प्रकाशनले प्रकाशनमा ल्याएको हो। ३१० पृष्ठ लामो पुस्तकको मूल्य ४४९ रुपैंया रहेको छ।



लाेकपाटी न्यूज

